fbpx

बलत्कार, हत्या, हिंसा, कर आतंक, खुलेआम भ्रष्ट्राचार भइरहँदा प्रतिपक्षी टुलुटुलु हेरेर बस्दैन : नेता केसी


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता अर्जुन नरसिंह केसीले सुशासन कायम गर्न भन्दापनि सरकार हावादारी कुरा गर्न तल्लीन रहेको बताएका छन् । सरकार प्रति जनस्तरबाट खस्कँदो साख र देउवाको कार्यशैलिले काँग्रेसलाई अझै प्रभावशाली भएर अगाडि बढ्नका लागि चुनौती थपेको उल्लेख गरे ।

उनले सरकारको नेतृत्व गरिरहेका केपी शर्मा ओलीको अधिनायवादविरुद्ध लड्न तयार भएर बस्नुपर्ने उल्लेख गरेका छन् । त्यसैगरी, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता केसीले अहिले कांग्रेसका नेता तथा कार्यकर्ताहरू पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीबाट त्यति सन्तुष्ठ नभएको बताए ।

स्ववियू धवलागिरी बहुमुखी क्याम्पसले आयोजना गरेको ‘वर्तमान सन्दर्भमा प्रतिपक्षको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बलत्कार, हत्या, हिंसा, कर आतंक खुलेआम भ्रष्ट्राचार भइरहँदा प्रतिपक्षी टुलुटुलु हेरेर नबस्ने बताए । उनले पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन देउवालाई समेत पटक–पटक आग्रह गरेको बताए ।

नेपाल बहससँगको कुराकानीमा उनले भने, ‘सभापतिको नाताले उहाँले पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्छ, सबै नेताहरूलाई मिलाउनुपर्छ, पार्टीलाई संरचनागत रूपमा चलाउनुपर्छ, त्यो अहिले सभापतिजीले सक्नुभएको छैन, यदि उहाँ मिल्न तयार हुनुभएन भने हामी संघर्ष गर्न तयार छौं।’ केसीले लोकतन्त्रको सौन्दर्य भनेकै वाद प्रतिवाद र संवाद संगसंगै हो भन्दै सरकार र प्रतिपक्ष जस्ता यसका सबल पक्षहरूलाई स्वीकार्नुपर्नेमा जोड दिए ।

देउवाले पदाधिकारी मनोनित एकलौटी ढंगले गर्नु निरंकुशताको अभ्यास भएको आरोप लगाए । काँग्रेसले लोकतन्त्रको मुल्मान्यता अनुसार प्रतिबाद गर्दै समयानुकुल प्रतिपक्षिय भुमिका निर्बाह गर्नेकुरा पनि सो क्रममा बताए ।

इतिहासमा कांग्रेस कहिल्यै नचुकेको उनले बताए । नेता केसीले आगामी पाँच वर्षभित्र पार्टीलाई पहिलो शक्तिको रूपमा स्थापित गर्न सक्ने तागत आफूहरूसँग रहेको पनि जिकिर गरे। उनले भने,‘तर यसको लागि हामीभित्रै सुधारको आवश्यकता छ, हामी सुधारवादी आन्दोलन गर्न गर्छौं, कांग्रेस थाकेको छैन, कसैले भगाएर पनि भाग्दैन।’

केसीले पार्टी सभापति देउवाको कार्यशैली, सामन्तवादी प्रवृत्ति र स्वेच्छचारीको आफू विरोधी रहेको बताउँदै यही तरिकाले पार्टीले पूर्नजीवन नपाउने समेत ठोकुवा गरेका छन् ।

नेता केसीले आफू सभापतिले तत्काल राजीनामा दिनुपर्छ भन्ने पक्षमा नरहेको पनि सुनाए । कांग्रेस इतिहासकै कालखण्डमा अत्यन्तै चूनौतीपूर्ण अवस्थामा रहेकोले आफूहरूले अहिले संयमित भएर आफ्नो भूमिका निर्वाह गरेको केसीले जनाए । उनले भने,‘हामी बजेट पेश गर्दा सुटकेश फोर्ने प्रतिपक्षी पनि होइनौं, हामी त लोकतान्त्रिक मर्यादा, परम्परा र सुसंस्कृतलाई ख्याल राख्दै आफ्नो भूमिका निर्वाह गर्छौं।’

समृद्ध नेपाल र सुखी नेपाली सबैको एजेण्डा भएकोले वर्तमान सरकारको काम हेर्नुपर्ने उनको भनाइ थियो । उनले भने,‘सरकार अहिले परीक्षाको घडीमा छ । ग्रोयबल्स शैलीमा यस्तो झूटको खेती गर्नुहुँदैन ।’

नेपाली कांग्रेस बिधान मस्यौदा रायसुझाब संकलनार्थ देशको विभिन्न १२ स्थानमा आयोजना गरेको मध्ये गण्डकी प्रदेशको बागलुङमा प्रमुख अतिथिका रूपमा पुगेका नेता केसीले यस्ता खालका सहायक कार्क्रमहरूले मुल कार्यक्रम र पार्टिको बिधानलाई अझ धेरै लोकतान्त्रिक र संविधान सम्मत र पाटिको तल्लो तहसम्म पुर्याएर बिधानलाई सबैले अपनत्व गर्न सक्ने आँखिझ्यालको रूपमा चित्रित गराउन कोसेढुङ्गा साबितहुने कुरा बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार