यी हुन केपी ओलीका चर्चित १३ वटा उखान टुक्का


Share This

नेपालबहस संवाददाता    

एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाको आयोजनामा आज बृहत्त चियापानको आयोजना भईरहेको छ । बडा दशैं, तिहार र छठ पर्वको अवसरमा भृकुटीमण्डपमा आयोजित चियापानमा ५० हजार भन्दा बढीको सहभागिता पनि जुरेको छ । राष्ट्रवादको नारा र सस्ता कुरा गरेर चर्चित भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिबेला भने अलोकप्रियताको शिखरमा छन् ।

नेपालको ४० औं प्रधानमन्त्रीको रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएको पनि ७ महिना भएको छ । नयाँ संविधानपछिको पहिलो प्रधानमन्त्री । यो अवधिमा उनी आफ्नै कारणले सबैभन्दा बढी आलोचित भएका छन् । ओलीले भाषण क्रममा उखान टुक्का मार्फत राजनीतिक कुरा गर्ने गर्छन् । बिगतमा उनले सबैभन्दा बढी माओवादी केन्द्र र त्यसका अध्यक्ष प्रचण्डलाई उखान टुक्का मार्फत उडाउने गर्थे । हेरौं उनका केही भनाई ।

ओलीले प्रयोग गरेका चर्चित उखान टुक्का :-

१. वनमाराको झाडीमा पीपलको बिरुवा छोपियो भनेर पीपल हरायो भन्न मिल्दैन । एमाले पीपलको बिरुवा हो, माओवादी वनमाराको झाडी । पीपल रूख बनेपछि वनमारा आफैं खुइलिएर जान्छ ।

२. हावा भरिएको बेलुनजस्तो आकार मात्र ठूलो भएर हुँदैन, तौल पनि चाहिन्छ । रुक्मांगद नामको छेस्कोले के घोचेको थियो फ्यास्स हावा खुस्कियो । माओवादी छातेच्याउ मात्रै हो, भदौको ठूलो थोप्ला पानीले नै ठेगान लगाउँछ ।

३. हात्ती दुब्लाएर बोरामा अट्दैन, मुसो मोटाएर हात्ती हुँदैन ।

४. दुई माना दूध उम्लेर एक पाथी जाने डेक्ची भरिएजस्तै हो माओवादी, दुई मानालाई एक पाथीको भ्रम परेको छ ।

५. झुसिलेबाटै पुतली बन्ने भए पनि झुसिलेलाई पुतली भनिँदैन । झुसिले झुसिले हो, पुतली पुतली नै हो । हामी पुतली बनाएर छोड्छौं । पुतली बनाएपछि पुतली भनौंला । अहिले झुसिले हो माओवादी, पुतली होइन । पछि वामपन्थी बनाउँछौं भनेर उग्रवामपन्थी माओवादीलाई अहिले नै वामपन्थी भन्न मिल्दैन । जुन दिन हामी उसलाई रूपान्तरण गरेर वामपन्थी बनाउन सक्छौं, त्यही दिन वामपन्थी भनौंला । हाललाई माओवादी वामपन्थी होइन ।

६. माओवादीको नेतृत्वमा सरकार बनाउन साथ दियौं । सल्लाह गरेर काम गर्न सुझाव दियौं । नउफ्री, नढल, नकुद्, जमिन हे भन्दाभन्दै मानेन । आफ्नै खुट्टामा अल्झेर लड्यो ।

७. प्रचण्डको धूर्त, स्वार्थी र शंकालु स्वभावलाई हामीले नियालेर हेरिरहेका छौँ । काग ज्यादा बाठो भएर नै आफ्नै विष्ठा खानेगर्छ । मसँग आएर उनले टाउको हल्लाउँदै र दुईटै हत्केलाका बुढी औँला भुँडीमाथि बिसाएर घुमाउँदै भनेका थिए, तपाईँजस्तो नेता संसदमा आउनु भएन भने को आउँछ त, तपाईँ आफ्नो निर्वाचन क्षेत्र निर्धारण गर्नुहोस । त्यहाँ हाम्रो कोही पनि उम्मेद्वार उठ्ने छैन । काँग्रेसले पनि उठाउनु हुँदैन । म सुशीलजीसँग यसबारे भन्छु । मसँग बाबुको किरियै खाएजसरी यस्ता कुरा गरेर गएका मान्छे पछि त सोलुबाट खाजा सामल बोकाएर एउटा बन्दुके (गोपाल किराँती) लाई मेरा बिरूद्ध चुनाब लड्न पठाएछन् । त्यो विचरा एत्रो भाग खाउँला भनेर मसँग भिड्न आएको थियो होला, जताबाट आएको मंसिर ४ गतेपछि रुँदै रुँदै उतै फर्किने भो ।

८. छोराको तिघ्रा बढेपनि बाबुलाई अभिभावक होइन भन्न मिल्दैन । माओवादीलाई यहाँसम्म ल्याएको एमालेले हो । उसलाई सुधार्न एमालेले गरेको आलोचनालाई विरोध नसम्झोस् ।

९. एउटा झोला किन्दे भनेर कसैले भन्यो भने झोला किनिदिन सकिन्छ । त्यतिले पुगेन, एउटा हात्ती पनि किनिदे भन्ला । त्यो पनि किनिदिन सकिएला । लौ अब त्यो हात्ती यो झोलामा हालिदे भनेर निहुँ खोज्यो भने के गर्ने ।

१०. सिनेमामा हिरोले हिरोइनलाई अँगालो हाल्छ, काखी च्याप्छ, हिरोइन आँसु झार्छे, एक अर्कालाई केही भयो भने पुर्पुरोमा हात राखेर रुन्छन्, जब सिनेमा सकियो केको लभ पर्नु हिरो एकातिर, हिरोइन अर्कै्तिर । हामीले जति राम्रो बनाउन खोजे पनि एमाले माओवादीको सम्बन्ध त्यस्तै भयो ।

११. गोरू नांगो देख्दा मलाई अहिलेसम्म लाज लागेको छैन ।

१२. झिगासँग उडे मलको बास, मौरीसँग उडे महको गाँस ।

१३. बयलगाडा चढेर अमेरिका पुग्न सकिदैंन (राजतन्त्रको समाप्ति र गणतन्त्रको स्थापनाका सन्दर्भमा) ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार