fbpx

नेविसंघ अध्यक्ष नैनसिंह महरले दिए राजीनामा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् ।  अाज पार्टी अध्यक्ष शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् । सानेपास्थित कार्यालयमा नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । बैठकमा नेविसंघकैबारे छलफल हुने नेताहरुले बताएका छन् ।

नेविसंघको १२ औं महाधिवेशन निर्धारित समयमा सम्पन्न गराउन नसकेपछि महर नेतृत्वको कार्यसमिति आलोचित बन्दै आएको थियो । त्यसैले गत २७ पुसमै महामन्त्री सरोज थापासहितका ७ पदाधिकारीहरुले राजीनामा दिएका थिए । ११ औं महाधिवेशनबाट निर्वाचित महर नेतृत्वको नेविसंघको कार्यसमितिको म्याद भदौ २ गतेसम्म थियो ।

तर, आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि पार्टीले तीन महिनाको समय अवधि थपिदिएको थियो । थपिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि पुनः दुई महिनाको म्याद थपिएको थियो । महाधिवेशन गर्ने सर्तमा पछिल्लो पटक थपिएको दुई महिनाको म्याद माघ २ गते सकिएको छ ।

पाँच महिनाको म्याद थपिएपछि नेविसंघ अध्यक्ष नैनसिंह महरले गत पुस २८ गते महाधिवेशन उदघाटन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका थिए । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्ववियु निर्वाचन गर्ने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार