fbpx

राष्ट्रियसभाबाट दुई विधेयक सर्वसम्मतिले स्वीकृत


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । राष्ट्रियसभाको बैठकले दुई विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बिहिबार बसेको बैठकले ‘विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक, २०७५’ र ‘भूउपयोग विधेयक २०७५’ स्वीकृत गरेको हो ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक, २०७५ र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले भूउपयोग विधेयक प्रस्तुत गरेका थिए ।

त्यसअघि बैठकको विशेष समयमा सांसद भैरवचरणसुन्दर श्रेष्ठले सरकार र सिके राउतका बीच भएको ११ बूँदे सहमतिको स्वागत गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउन सबैमा आग्रह गरे ।

सांसद रामनारायण बिंडारीले उत्कृष्ट संविधान कार्यान्वयनमा आउँदा पनि असन्तुष्ट हुनुको कारणको खोजि हुनुपर्ने धारणा राखे । सांसद अनिता देवकोटाले विधिको शासनपालन गर्ने र गराउने गृह मन्त्रालयले नै विधिको शासनलाई उल्लङ्घन गरेको आरोप लगाए ।

त्यस्तै शून्य सयममा सांसद शान्तिकुमारी अधिकारीले बागलुङ जिल्लामा जलशाययुुक्त जलस्रोतको आयोजना निर्माणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद हरिचरण शिवाकोटीले सरकार र राउतबीच भएको सहमतिको स्वागत गरे ।

बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सार्वजनिक ‘निजी साझेदारी तथा लगानी विधेयक, २०७५’ र राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभाका पठाइएको ‘प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) २०७५’ विधेयकलाई प्रतिनिधिसभाबाट पारित भएको जानकारी दिए ।

बिकास समितिमा शो प्रस्ताव पारित

हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको निधनमा संसदको बिकास तथा प्रविधि समितिले शोक प्रस्ताव पारित गरेको छ ।

सिंहदरबारमा बिहिबार बसेको समिति बैठकले समितिका पूर्वसभापति समेत रहेका अधिकारीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । बैठकमा समिति सभापति कल्याणी खड्काले शोक प्रस्ताव प्रस्तुत गरेका थिए ।

शोक प्रस्ताव पारित भएपछि हेलिकप्टर दुर्घटनामा परी निधन भएका अधिकारीसहित अन्य ६ जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एक मिनेट मौनधारण समेत गरेको थियो ।

बैठकले मन्त्री अधिकारी सभापति रहदा मुलुकको विकास निर्माणको काममा देखाउनु भएको सक्रियता, पहलकदमी र अग्रसरताका लागि कृतज्ञता पनि ज्ञापन गरेको छ ।

तपाईको प्रतिक्रिया