fbpx

नेपाल र अमेरिकाबीच उच्च राजनीतिक वार्ता हुने : प्रचण्ड



नेपालबहस संवाददाता
 




काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र अमेरिकाबीच उच्च राजनीतिक तहमा वार्ता गर्नेबारे सैद्धान्तिक समझदारी भएको बताएका छन् ।

पत्नी सीता दाहालको उपचारका लागि १० दिनअघि अमेरिका पुगेका प्रचण्ड बिहीबार बेलुका स्वेदश फर्किएपछि त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दे अमेरिकामा भएका केहि भेटवार्तामा नेपाल र अमेरिकाबीच उच्च राजनीतिक तहमा वार्ता गर्नेबारे सैद्धान्तिक समझदारी भएको बताए ।

मेरिल्याण्ड राज्यमा नेपाली मूलका सांसद ह्यारी भण्डारीले आफूलाइ स्वागत गरेको अध्यक्ष प्रचण्डले बताए । भ्रमणका क्रममा नेपालका लागि पूर्वअमेरिकी राजदूत, अमेरिकी सरकारका विशिष्ट कर्मचारी र अमेरिकामा रहेका नेकपाका नेता–कार्यकर्तासँग पनि राम्रो कुराकानी भएको प्रचण्डले बताए ।

आफू जहाजमा रहेका बेला अमेरिकामा आफूविरुद्ध उजुरी परेको भन्दै उनले केहि नेपालीले अमेरिकामा बसेर नेपालको नै बेइज्जत हुने काम गरेको टिप्पणी गरे । त्यस्तै उनले आफू नेपाल फर्किएसँगै अब पार्टी एकता प्रक्रिया टुंगोमा पुर्‍याउन लाग्ने धारणा राखे ।

त्यस्तै अध्यक्ष प्रचण्डले सीता दाहालको स्वास्थ्यमा निकै सुधार आएको जानकारी पनि दिए । उनले पत्नी सीताको उपचारका लागि मूख्यतः ३ ठाउँमा अनुसन्धान र उपचार भएको बताए ।

सीताको शरीर र मस्तिष्कलाई फूर्तिलो बनाउने यन्त्र र औषधि लिएर आफूहरु फर्किएको उनले बताए । अमेरिकामा सीता दाहालको स्वास्थ्योपचारपछि प्रचण्ड स्वदेश फिर्ता भएका हुन् ।


सम्बन्धित समाचार