राष्ट्रिय विकास परिषद्‍ : १५ औँ पञ्चवर्षीय योजनामा मस्यौदा स्वीकृत !



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रिय विकास परिषद्‍ले आएका सुझाव समावेश गर्ने गरी १५ औँ पञ्चवर्षीय योजनामा मस्यौदा स्वीकृत गरेको छ । अधिकतम १० दशमलव ३ र औसत ९ दशमवल ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गरी बनाइएको योजना बिहीबार राष्ट्रिय विकास परिषद्को बैठकले पारित गरेको हो ।

दुई दिनसम्म चलेको बैठकले दिएको सुझावलाई समावेश गर्ने गरी प्रधानमन्त्रीको तर्फबाट राष्ट्रिय योजना आयोगले प्रस्तुत गरेको मस्यौदा सर्वसहमतले पारित गरिएको हो ।

प्रधानमन्त्री ओलीलले ताली बजाएर पारित गरिदिनको लागि आग्रह गरेका थिए । दुईदिनसम्म चलेको बैठकमा ३०० वक्ताले १७८ सुझाव दिएका थिए । यी सुझावलाई प्रधानमन्त्री ओलीले आफै अध्ययन गरेर उपयुक्त सुझाव समावेश गर्ने बताए ।

प्रधानमन्त्री ओलीले सभ्य र समुन्नत समजको निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै सुशासन कायम गर्ने दृढता व्यक्त गरे । सामाजिक न्याय र विभेद अन्त्य गर्ने संविधान निर्माण भएको र समाजवाद उन्मुख व्यवस्था लागु भएको उनको भनाइ थियो ।

त्यस्तै अर्थमन्त्री डा. युवराज खतिवडाले जतिसक्यो छिटो १५ औँ पञ्‍चवर्षीय योजनालाई अन्तिमरूप दिनका लागि आग्रह गरे । उनले यही योजनाका आधारमा आगामी आर्थिक वर्षको बजेट निर्माण गरिने बताए ।

विकास परिषद्‍बाट पारित मस्यौदा मन्त्रिपरिषद्‍मा पेस गरेपछि योजनाका रुपमा आउनेछ । १५ औ पञ्चवर्षीय योजनामा १६ सय डलर प्रतिव्यक्ति आय पुराउने, गरिबीको रेखामुनिको जनसंख्या १३ प्रतिशतमा झार्ने तथा बहुआयामिक गरिबीको जनसंख्या १४ प्रतिशतमा झार्ने लक्ष्य निर्धारण गरेको छ ।

अहिले बहुआयामिक गरिबीको जनसंख्या २८ प्रतिशत रहेको छ । अपेक्षित आयु ७२ वर्ष पुर्‍याउने लक्ष्य निर्धारण गरिएको छ भने साक्षरतादर ९० प्रतिशत, युवा साक्षरता ९९ प्रतिशत, आधारभूत खुद भर्ना ९९.५ प्रतिशत रहने लक्ष्य निर्धारण गरिएको छ ।

त्यस्तै, पूर्वधार क्षेत्रमा ३० मिनेटको दूरीमा यातायात पहुँच पुग्नेको जनसंख्या ९५ प्रतिशत, विद्युतीय पहुच प्राप्त परिवार ९९ प्रतिशत, रेल मार्ग ११२ किलोमिट र द्रुत लोकमार्ग ७६ किलोमिटर पुर्‍याउने लक्ष्य निर्धारण गरिएको छ ।

चालु आर्थिक बर्षमा ३४ खर्ब ४९ अर्ब ८ करोड हुने अपेक्षा गरिएको कुल गार्हस्थ उत्पादन आगामी पाँच बर्षपछि ५५ खर्ब ७५ अर्ब १९ करोडको हुनेछ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार