युवाहरुका लागि निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा


Share This


नेपालबहस संवाददाता    78 Views

डडेल्धुरा । अमरगढी नगरपालिकाले युवाहरुका लागि निःशुल्क लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गरेको छ । नगरपालिकाले नायव सुव्वा र खरिदार पदको तयारीका लागि निःशुल्क डेढ महिने कक्षा संचालन गरेको हो ।

नायवसुब्वा र खरिदारको निःशुल्क तयारी कक्षाको शुक्रबार अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले उद्घाटन गरेको हुन् । युवाहरुमा सकारात्मक भावनाको विकास गराइ कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दार युवाका रुपमा स्थापित गराउन लोकसेवा तयारी कक्षा संचालन गरिरहेको नगरप्रमुख ओझाले बताएका छन् ।

समाज परिर्वतनका लागि युवाहरुको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै उनले युवाहरुले जिम्मेवार भएर अगाडि बढ्नु पर्ने बताएका छन् ।अन्य व्यक्तिहरु आएर हाम्रो समाज परिर्वतन गर्ने नभइ यहाँका युवाहरुले आफ्नो दायित्वबोध गरेर अगाडि बढे मात्रै मुलुक समृद्ध भन्ने उनको भनाइ थियो ।

लोकसेवा आयोगमा यहाँका क्षेत्रका युवाहरुको पहुँच र सहभागिता अझैं पनि उल्लेख्य रुपमा हुन नसकेको भन्दै नगरपालिकाले युवाका लागि नायव सुव्वा र खरिदार पदको लोकसेवा तयारी कक्षा संचालन गरिरहेको नगरपालिकाले जनाएको छ ।

गाउँघरमै लोक सेवा तयारी कक्षा सञ्चालन भएपछि यहाँ युवाहरु खुसी भएको छन् । तयारी कक्षामा पुरुषको भन्दा महिलाको बढी संख्या बढी रहेको छ । २८ जना सहभागिहरुमा २४ जना महिला र ४ जना पुरुष सहभागी छन् ।

नगरपालिकाले युवाहरुका लागि गरेको यो प्रयास सकारात्मक भएको परीक्षार्थी रामचन्द्र जोशीले बताएका छन् । यहाँका युवाहरुले लोक सेवा तयारी कक्षा लिनको लागि काठमाडौँ, धनगढी, नेपालगञ्ज जानु पर्ने बाध्यता अन्त्य भएको उनको भनाइ छ । राज्य सञ्चालनमा कर्मचारीहरुको महत्पूर्ण भूमिका हुने उल्लेख गर्दै जोशीले कर्मचारीतन्त्रमा क्षमता भएको मान्छे र युवाहरु आउनु पर्ने बुझाइ भएकाले यो कार्यक्रम उपयोगि भएको बताएका छन् ।

नगरपालिकाले लोक सेवा तयारी कक्षा सञ्चान गर्नु हाम्रो लागि सुनौलो अवसर भएको परिक्षार्थी चित्रा भट्टले प्रतिक्रिया दिइन् । पढेलेखेको भए पनि समय र परिस्थितिले गर्दा टाढा पढ्न जान नपाएका हामी जस्ताका लागि यो कार्यक्रमले आफ्नो सिकाइमा ठूलो टेवा पुग्ने उनको भनाइ छ ।

तयारी कक्षामा जिल्लाका विभन्न नगरपालिका र गाउँपालिकाका युवाहरुको सहभागिता रहेको छ । सहभागी परीक्षार्थीहरुलाई सरेश शाह र प्रान मेहताले प्रशिक्षण दिइरहेका छन् ।

तपाईको प्रतिक्रिया