बुधबार र बिहीबार ठूला नदीमा पानीको बहाव बढ्दै !


Share This

नेपालबहस संवाददाता    

अब्दुल्लाह मियाँ

काठमाडौं । आगामी बुधबार र बिहीबार कोशी, बागमती र नारायणी नदीमा पानीको बहावले सतर्कता तह नाघ्ने भएकाले सचेत हुन जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई आग्रह गरेको छ ।

भारतीय पक्षले कोसी ब्यारेजको २८ नम्बर ढोका सामुन्नेबाट पाइलट च्यानल खनी नदीलाई पश्चिमतर्फ धकेलेपछि वर्षौंदेखि मर्मत अभावमा जीर्ण रहेको पश्चिमी तटबन्ध र स्परमाथि खतरा बढेको छ  । विभागको बाढी पूर्वानुमान शाखाले सोमबार बाढी बुलेटिन निकालेर ठूला नदीमा बाढीको जोखिम नभए पनि स–साना नदीहरुमा पानी परिरहेको बखत सचेतना अपनाउन ध्यानाकर्षण गराएको हो।

‘कन्काई, कोशी, कमला, बागमती र नारायणी नदीमा सोमबारदेखि बुधबारसम्म पानीको सतह एक मिटर बढ्नेछ,’ बुलेटिनमा भनिएको छ। शुक्रबार पूर्वी नेपालबाट मनसुन सुरु भएसँगै बाढी पूर्वानुमान शाखाले देशभरका नदीमा सम्भावित बाढीको प्रक्षेपण सुरु गरेको छ।

शाखाका अनुसार सोमबारदेखि बुधबारसम्म मध्यभागका धेरै जसो स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा हुने सम्भावना छ। सोमबार कन्काई, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीमा पानीको बहाव बढ्ने आंकलन गरिएको छ। मंगलबार पनि ती नदीमा पानीको मात्रा बढ्नेछ। यो वर्ष निर्धारित मितिभन्दा दुई दिन अघिदेखि मनसुन सुरु भएको छ।

विभागले मनसुन अवधीभर २४ सै घण्टा कार्यालयमा बाढीविज्ञ परिचालन गरी देशैभरका नदीहरुमा पानीको प्रवाहरबारे अनुगमन गरिनेछ।

मुख्य नदीहरु कोसी, गण्डकी, कणानली, बागमती र पश्चिम राप्तिलगायतका नदीहरुमा ३ दिन अगाबै बाढीको पूर्वानुमान गर्न सकिने गरी कम्प्युटर मोडलको विकास गरिएको विज्ञ विनोद पराजुलीले बताए। ती नदीमा पानीको बहाबबारे सरोकारवाला निकायहरुर्लाइ जानकारी पनि गराईनेछ।

‘हामीले २४ घण्टादेखि तीन दिनपछिसम्मको बाढीको पूर्वानुमान गर्नेछौं’ उनले भने, ‘त्यसो हुदा संभावित दुर्घटनाबाट बच्न सकिन्छ।’ विभागको बाढी पूर्वानुमान शाखाले मनसुन अवधिभर विहान ६ र बेलुकी ६ बजे विशेष बुलेटिन निकाल्नेछ।

बाढी सतर्कता तह नजिक पुग्न लागेमा, सतर्कता तह पार गरेमा, खतरा तह पार गरेमा मुख्य नदी आसपास बस्ने जनतालाई लक्षित गरी नेपाल टेलिकम र एनसेलको मोबाईल सेटमा एसएमएस पठाईनेछ। देशैभरका सर्वसाधारणका लागि ११५५ नम्बरको टोलफ्री नम्बरबाट पनि सूचना दिइने पराजुलीले बताए।

तपाईको प्रतिक्रिया
Road Show Real State