सार्वजनिक हितका विषयमा देशभरका ८० पत्रकारलाई तालिम


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । पारस्परिक जवाफदेहिताका लागि सार्वजनिक हितका विषयको उठान गर्न सक्ने पत्रकार तयार पार्ने उद्देश्यले देशभरका ८० सञ्चारकर्मीलाई तालीम दिइएको छ ।

चार चरणमा गरी ८० पत्रकारलाई तालीम दिइएको हो । स्थानीय तहसँग समन्वय गर्दै स्वास्थ्य, शिक्षा, कृषि एवं विपद् जोखिम न्यूनीकरण गरी चार प्राथमिक क्षेत्रमा सरकारी नीति, नियम सफल बनाउन सहयोग गर्ने उद्देश्यले तालीम आयोजना गरिएको हो ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९युएसएआइडी० को आर्थिक सहयोग तथा एफएचआइ ३६० र इक्वेल एक्सेसको साझेदारीमा सञ्चालित पारस्परिक जवाफदेहिता कार्यक्रमले चार चरणमा ३४ जिल्लाका ८० पत्रकारलाई तालीम दिइएको वरिष्ठ सञ्चार अधिकृत कमला पोखरेलले बताए ।

तालीमको अन्तिम चरण असार १२ गतेदेखि १६ गतेसम्म सञ्चालन भयो । पाँचदिने पैरवी पत्रकारिता तालीममा भूकम्प अतिप्रभावित १४ र पारस्परिक जवाफदेहिता कार्यक्रम लागू भएका जिल्लाका गरी १८ पत्रकारको सहभागिता थियो । ६२ पत्रकारलाई यसअघि नै तालीम दिइएको थियो ।

जवाफदेहिता कार्यक्रम ३४ जिल्लामा सञ्चालन भइरहेको छ । सन् २०१६ बाट शुरु भएको परियोजना २०२१ सम्म सञ्चालन हुने उनले बताए । सार्वजनिक हित र चासोको विषयमा सुशासन प्रवद्र्धनका लागि सञ्चार क्षेत्रको सहभागिता गराउन इक्वेल एक्सेसले सञ्चारकर्मीलाई पैरवी, अनुगमन तथा निगरानी तालीमको आयोजना गरेको हो ।

पाँचदिने पैरवी पत्रकारिता तालीममा सुशासन, निगरानी तथा पैरवीको आधारभूत अवधारणा र महत्व तथा स्थानीय शासन सुधारका लागि हुने पैरवीका बारेमा प्रशिक्षण दिइएको थियो । सार्वजनिक हित निगरानीमा सञ्चार माध्यमको भूमिकाका साथै पैरवी आवश्यक भएका स्थानीय समुदायका मुद्दालाई उठाउने तरीका पनि तालीममा सिकाइयो ।

कार्यक्रममा इक्वेल एक्सेसका निर्देशक डा निर्मल रिजाल, राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिमल्सिना, गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य मिलन धरेल, एफएचआई ३६० का पारस्परिक जवाफदेहिता कार्यक्रमका सुशासन विज्ञ प्रणव भट्टराई, इक्वेल एक्सेसका वरिष्ठ सञ्चार अधिकृतद्वय कमला पोखरेल र प्रकाश लामिछानेलगायतले तालीममा सहजीकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया