fbpx

देउखुरीमा ६ सय ४० सम्बन्ध विच्छेदका मुद्दा


Share This

नेपालबहस संवाददाता    

तुलसीपुर, दाङ । दाङ देउखुरी जिल्ला अदालतमा बितेको आर्थिक वर्षमा अन्य मुद्दाको तुलनामा सबैभन्दा बढी ६ सय ४० सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् ।

अदालतका न्यायाधीश हेमन्त रावलले दिएको जानकारीअनुसार दर्ता भएका ती सम्बन्ध विच्छेदका मुद्दामध्ये ४ सय ९५ वटा मुद्दा फछ्यौट भएका छन् । अर्थात् ४ सय ९५ जोडी अलग भएका छन् ।

न्यायाधीश रावलले सम्बन्ध विच्छेद गर्नुको मुख्य कारण वैदेशिक रोजगारी, प्रेम विवाह र नयाँ पुस्ता आफूहरु स्वतन्त्ररुपमा रहन चाहनु नै रहेको बताए ।

आव २०७३/0७४ मा पनि जिल्ला अदालत दाङ देउखुरीमा ५ सय २७ जनाले सम्बन्ध विच्छेदका लागि निवेदन दिएकामा ४ सय १८ जोडीले सम्बन्ध विच्छेद गरेका थिए ।

मुद्दा फछ्यौट

त्यसैगरी जबर्जस्ती करणीका ५६ वटा मुद्दा दर्ता भएकामा २५ वटा मुद्दा फछ्यौट भएका छन् । लागुऔषधका अदालतमा परेका २८ वटा मुद्दामा १३ वटा, घरेलु हिंसामा तीन वटा मुद्दा दर्ता भएकामा एक वटा र मानव बेचबिखनका तीन वटा मुद्दा दर्ता भएकामा तीनवटै मुद्दा फछ्यौट भएको न्यायाधीश रावलले बताए ।

दाङ देउखुरी जिल्ला अदालतले पत्रकार भेटघाटको आयोजना गरी अदालतले एक वर्षमा गरेको काम कारबाही सार्वजनिक गरेको हो । न्यायाधीश रावलले बितेको आवमा दुई हजार ३सय ५ वटा विभिन्न मुद्दा दर्ता भएकामा तीमध्ये एक हजार ४ सय ७१ वटा मुद्दा फछ्यौट भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार