fbpx

शिक्षक सेवा आयोगको माग भन्दा बढी आवेदन


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । शिक्षक सेवा आयोगले करिब तेह्र हजार शिक्षकको माग गरेकोमा दुई लाख २५ हजारभन्दा बढी आवेदन परेको छ । आयोगले झण्डै ६ वर्षपछि खुल्ला प्रतियोगिताबाट पदपूर्तिको तयारीका लागि शिक्षकको माग गरेको छ ।

आयोगले संविधानमा भएको व्यवस्थाअनुसार ७५ प्रतिशत आन्तरिकको पदपूर्तिको परीक्षा गत असार अन्तिम साता लिइसकेको छ भने बाँकी २५ प्रतिशतको खुल्लातर्फ आवेदन गर्न साउन पहिलो सातासम्म समय दिएको थियो ।

प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका गरी १२ हजार ७ सय ३९ दरबन्दीमा पदपूर्ती गर्न लागेको हो । आयोगका प्रशासकीय प्रमुख डा। तुलसी थपरियाका अनुसार २ लाख २५ हजारभन्दा बढीले आवेदन गरेको प्रारम्भिक अनुमान रहेको छ । विद्यमान कानुनी संरचनाका आधारमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक शिक्षकका लागि विज्ञापन गरिएको हो । प्राथमिक तहको हकमा ६ वर्षपछि र निमावि तथा माविको तीन वर्षपछि खुल्ला विज्ञापन गरिएको हो ।

आगामी असोज ११ गतेबाट तीन दिनसम्म हुने परीक्षामा प्राथमिक तहको रिक्त दरबन्दी ९ हजार ९ सय ९६ रहेको छ । त्यसैगरी निमावि तहमा १ हजार ६ सय ३५ र मावि तहका १ हजार १ सय ८ जना पद खाली छन् ।

शिक्षा शास्त्र विषय पढेर शिक्षण अध्यापन अनुमतिपत्र ‘लाइसेन्स’ प्राप्त व्यक्तिले प्रतिस्पर्धा गर्न पाउँछन् । आयोगको तथ्यांकअनुसार कार्यरतसहित सात लाख जनाले लाइसेन्स प्राप्त गरेका छन् । आयोगले अस्थायी शिक्षकलाई आन्तरिक खुल्ला पदपूर्ति गर्नका लागि परीक्षा गत असार २९ र ३० गते लिएको थियो । उक्त परीक्षा चार पटकसम्म रोकिएको थियो ।

करिब २५ हजार रिक्त दरबन्दी मध्ये २२ हजार ७६ शिक्षकले परीक्षा दिएका छन् । धेरैपटक परीक्षा स्थगित भएकाले सबै तहमा परीक्षार्थी संख्या पुग्न नसकेको आयोगले जनाएको छ ।

‘पद रिक्त भएपनि माग अनुसारको प्रतिस्पर्धीको आवेदन परेन,’ आयोगका प्रशासकीय प्रमुख थपलियाले बताए । कार्यतालिकाअनुसार फागुन–चैतमा विज्ञापन हुनेछ । हरेक ६ महिनामा रिक्त दरबन्दीमा पदपूर्ति गरिने छ ।

तपाईको प्रतिक्रिया