राष्ट्रिय जनगणना २०७८ दुई चरणमा गर्ने तयारी


Share This

नेपालबहस संवाददाता    

विराटनगर । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ दुई चरणमा गर्ने तयारी शुरु गरेको छ । राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा प्रदेशस्तरीय अन्तक्र्रिया गोष्ठीमा  प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले तथ्याङ्कले विकास निर्माणका कार्य, कृषिको आधुनिकीकरण र भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने बताए ।

उनले सबैलाई समेट्ने गरी वैज्ञानिक र व्यवस्थित ढङ्गले जनगणना हुनुपर्नेमा जोड दिँदै गणकद्वारा गरिने जनगणनाको प्रभावकारी अनुगमनमा विभागको सचेत र सजग हुनु आवश्यक रहेको विचार व्यक्त गरेका छन् ।

गणनालाई प्रभावकारी बनाउन आवश्यक सुझाव सङ्कलन गर्न आगामी दिनमा स्थानीय निकाय, सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग छलफल गरिने विभागका निर्देशक ढुण्डिराज न्यौपानेले बताए ।

गोष्ठीमा प्रदेश नं १ का प्रमुख सचिव केदार न्यौपाने, जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल र मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले राष्ट्रिय जनगणनालाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागीले जनगणनामा जात जातिका तथ्याङ्कसम्बन्धी पूर्ण विवरण तल्लोस्तरमा सङ्कलन गर्नुपर्ने, पारिवारिक संरचना, रोजगारी, बसाइँसराइ, आदि विषयमा समेट्न सुझाव दिएका छन् । राष्ट्रिय जनगणना प्रत्येक १० वर्षमा हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया