नयाँ मुलुकी संहिता : १२ दिनमा ११ पुरुषले दिए सम्बन्ध विच्छेदको निवेदन



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दाङ ।  दाङमा १२ दिनको अवधिमा ११ जना पुरुषले सम्बन्ध विच्छेदको लागि अदालतमा निवेदन दर्ता गराएका छन्। भदौ १ गतेबाट लागू भएको नयाँ मुलुकी संहिताले दिएको अधिकार प्रयोग गर्दै दाङमा पुरुषहरूले धमाधम अदालतमा आएर सम्बन्ध विच्छेदको लागि निवेदन दर्ता गराउन थालेका हुन्।

भदौ १ गतेदेखि भदौ १२ गतेसम्म ११ जना पुरुषहरूले श्रीमतीसँग सम्बन्ध विच्छेद गरी पाउँ भन्दै निवेदन दर्ता गराएको दाङ देउखुरी जिल्ला अदालतका प्रमुख न्यायाधीश हेमन्त रावलले जानकारी दिए। नयाँ मुलुकी संहिताले सम्बन्ध विच्छेदका लागि पुरुषहरू पनि सिधै अदालतमा जान सक्ने व्यवस्था गरेको छ।

नयाँ ऐन लागू हुनुभन्दा पहिला पुरुषलाई सिधै अदालत आएर सम्बन्ध विच्छेदको लागि अदालती प्रक्रियामा जान पाउने व्यवस्था थिएन। यसअघि सम्बन्ध विच्छेद गर्न चाहने पुरुषले स्थानीय तहमार्फत् सिफारिस लिएर मात्रै अदालतमा सम्बन्ध विच्छेदको लागि जाने कानूनी प्रावधान थियो।

तर,भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐनमा पुरुषले पनि सिधै अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न पाउने व्यवस्था गरेको हुँदा त्यसैको आधारमा पुरुषले सम्बन्ध विच्छेदको लागि मुद्दा दर्ता गराएको प्रमुख न्यायाधीश रावलले सेतोपाटीलाई बताए।

सम्बन्ध विच्छेदको निवेदन दिने पुरुषहरूले श्रीमतीले घरव्यवहार चलाउन नसकेको, आफू वैदेशिक रोजगारीमा रहँदा सम्पत्ति हिनामिना गरेको, परपुरुषसँग सम्बन्ध जोडेको जस्ता आरोपसहित निवेदन दिएका छन्।

त्यस्तै, १२ दिनको अवधिमा थप ४ जना महिलाले पनि पतिसँग सम्बन्ध विच्छेद गरी पाउँ भनी अदालतमा निवेदन दिएको अदालतका श्रेष्तेदार गम्भिर रानाले जानकारी दिए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •