असारे विकासले जोखिम निम्त्यायो



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रासस / विनोद सिंह विष्ट

बैतडी । लगातार परेको वर्षाले भदौ पहिलो साता दोगडाकेदार गाउँपालिका–३ सिल्लका जनक चन्दको घर जोखिममा पारिदियो ।

खोचलेकदेखि चडेपानी जाने सडक चन्दको घरछेउबाटै काटिएको हुनाले जोखिममा परेको हो । स्थानीय सरकार आएपछि विकासले गति लिन्छ भन्ने आशामा रहेका बैतडीका नागरिकले अहिले विपत्ति झेल्न परिरहेको छ । विकासको नाममा मापदण्ड विपरीत खनिएका सडकले विपत्ति निम्त्याइरहेका छन् ।

बजेट सिध्याउने नाममा असारमा आएर विकास निर्माणमा काम हतार हतार गर्ने प्रवृत्तिले जोखिम बढाएको छ । जिल्लाका विभिन्न स्थानीय तहले वातावरणको ख्यालै नगरी सडक बनाउन चलाएका डोजरको बितण्डा पहिलो वर्षात्मै देखिन थालेको छ ।

धेरै ठाउँमा वर्षात्मै खनिएका सडक भत्केर भताभुंग भएका छन् भने सडक मुनितिरका वस्ती पहिरो र बाढीको जोखिममा परेका छन् ।मुख्य राजमार्गको ख्यालै नगरी निर्माण गरिएका शाखा सडक तथा राजमार्ग माथि र मुनितिर खनिएका सडकले समेत वस्तीलाई जोखिममा पारिदिएका छन् ।

दोगडाकेदार गाउँपालिकाको खोचलेक बजारदेखि चडेपानी जान खनिएका सडकका कारण खिरेगाउँको वस्ती जोखिममा परेको छ । प्राविधिक र वातावरणीय पक्षलाई बेवास्ता गर्दै डोजर, एस्काभेटरजस्ता ग¥हुँगा उपकरण प्रयोग गरेर सडक निर्माणका क्रममा निकालिएको माटो र पानीको व्यवस्थापन नहुँदा विपत्को जोखिम बढाएको दोगडाकेदार–३ श्रीकोटका हेमराज गिरीले बताए।

सडकले थुपारेको माटो बर्खाको पानीले गलेर बग्ने, सडकमा जम्ने पानीले खोल्सा बनाउने, माटो बगाउँदा वरपरका वस्तीमा पहिरो खस्ने, जमीन भासिने, भू–क्षय हुने र नदीमा बाढीको आयतन बढेर कटान गर्ने क्रम बढेको छ ।

उनले भने – “भू–संवेदनशीलतालाई ध्यान नदिएर डोजर चालकले आफूखुशी खनेका सडक विपत्को प्रमुख कारण बनेको छ ।” यसका साथै उपभोक्ता समितिले सडकको नयाँ ट्र्याक बनाउँदा पर्खाल लगाउने, वृक्षरोपण गर्ने, भल व्यवस्थापनका लागि नाली बनाउने र माटोको व्यवस्थापन गर्ने काममा खासै ध्यान नदिँदा पहिरोको समस्या बढेको हो ।

अविरल वर्षाले डिलासैनी गाउँपालिका–३ मा खहरेखोलामा बाढी आयो । खोलामा आएको बाढी गाउँमा पसेपछि स्थानीय बासिन्दाको दुई सय रोपनी जमीन बगरमा परिणत भयो ।

यो वर्ष कलदे खोला सिमार र तल्लो छेपट्टा गाउँमा पस्दा २२ घर जोखिममा परेका छन् । “एक्कासि आएको बाढीले खेतीयोग्य जमिन बगाइदियो, त्यो बेला त ज्यान जोगाउनै मुश्किल प¥यो,” रानाले भने – “आकाशमा कालो बादल मडारिँदा अहिले पनि डर लाग्छ । फेरि खोलामा आउने बाढीले घर नै बगाउने हो कि भन्ने चिन्ता लाग्छ ।”

एक्कासि खहरे खोलामा आएको बाढीले खेतमा रोपेको धानबाली पूरै नष्ट गरिदिएको स्थानीयवासी अर्जुन रानाले दुःखेसो पोखे । कलदे खोलामा आएको बाढीे सडकको ह्युम पाइप थुनिएर गाउँ पसेको हो । खेतमा लगाइएको धानबाली पूरै नष्ट भएपछि झनै समस्यामा परेको बताउँदै उनले भने – “खहरे खोलामा आएको बाढीले एकातिर समस्या निम्त्याएको छ भने खेतको छेउतिर चमेलिया नदीले कटान गर्दै गएको छ ।”

डिलाशैनीका स्थानीय बासिन्दालाई बाढीले ठूलै समस्यामा पारेको छ । बाढीले खेतीयोग्य जमीन पूरै पुरिदिएपछि समस्या भएको स्थानीयवासी रमेश धामीको भनाइ छ ।

डिलाशैनी गाउँपालिका वडा नं ६ स्थित हरिनगर बजार बाढी र पहिरोको जोखिममा छ । तलतिर चमेलिया नदीको कटान र माथिबाट पहिरो खस्ने भएकाले बजार नै जोखिममा रहेको वडा नं ६ का वडा सदस्य चन्द्रीनाथ योगीले बताए।

जिल्लाका विभिन्न स्थानमा खनिएका कच्ची सडकले बाढी र पहिरोको जोखिम बढाएको स्थानीय बासिन्दाको गुनासो छ । अध्ययन बिनै स्थानीय तहले धमाधम कच्ची सडक खनेपछि अहिले ती सडकले खेतबारी बगाउन थालेका छन् ।

दशरथचन्द नगरपालिकाको छेला–दुर्गाभवानी सडकका कारण सडक तलतिरका वस्तीहरु जोखिममा परेका छन् । वर्षाले सडकको पूरै माटो खेतमा पसेर खेतबारी नष्ट गर्नाका साथै सडक माथिबाट आएको खहरेले घर छेउमै पहिरो जाँदा समस्या भएको सुर्नया–६ का दुर्गादत्त अवस्थीले बताउनुभयो । उनले भने – “खेतबारी र घरै जोखिममा परेपछि अर्को घरमा सरेका छौं ।”

जिल्लाको डिलाशैनी गाउँपालिकाको गोकुलेश्वर, रुद्रेश्वर, दोगडाकेदार गाउँपालिकाको सित्तड, पुर्चौंडी नगरपालिकाको मल्लादेही, मेलौली नगरपालिकाको विशालपुरलगायत क्षेत्र पहिरोको जोखिम छ । ती क्षेत्रमा कच्ची सडक खन्ने क्रम बढेसँग जोखिम बढेको हो ।

बजेट सक्ने उद्देश्यले आर्थिक वर्षको अन्तमा डोजर डुलाएर पाखो खन्ने प्रवृत्तिले विपत् बढाएको सुर्नयाका नरेन्द्र विष्टको भनाइ रहेको छ । “स्थानीय सरकार बनेपछि समयमै विकास निर्माणका काम हुन्छ भन्ने आशा भएपनि त्यसो भएन,” उनले भने – “स्थानीय सरकार भएको अनुभूति गरिएको भएपनि असारे प्रवृति भने कायम छ ।”

स्थानीय तहहरुले भने बजेट सिध्याउनकै लागि असारमा आएर मात्र विकास निर्माणका कामहरु गर्ने गरेका कारण गुणस्तरीय नहुने गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।

बैतडीमा गत आर्थिक वर्षको कुल पूँजीगत बजेटमध्ये ४५ प्रतिशत असार महिनामा खर्च भएको थियो । अधिकांश विकास अड्डाहरुको रकम असारमा खर्च भएको हो । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार असार महिनामा मात्रै रु ७ करोड ९३ लाख खर्च भएको छ ।

बैतडीमा कुल पुँजीगत बजेट रु २ अर्ब १५ करोड ७९ लाख मध्ये रु १ अर्ब ८४ करोड ६४ लाख खर्च भएको छ । यसमा ४५ प्रतिशत रकम असार महिनामा मात्रै खर्च भएको प्रमुख कोष नियन्त्रक वासुदेव जोशीले बताए।

स्थानीयस्तरमा विपद् व्यवस्थापन समिति गठन गरी सक्रिय बनाइए प्रकोपजन्य घटनाहरुमा कमी आउने र क्षति न्यून हुने प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैह्रेले बताए ।

ग्रामीण क्षेत्रमा स्थानीय तहहरुले खनेका सडकहरुले ४÷५ वर्षसम्म विपत्ति निम्त्याउन सक्ने डिभिजन सडक कार्यालय पाटन बैतडीका प्रमुख अमित श्रेष्ठले बताए । नयाँ खनिएका सडकहरु ‘सेट’ हुन केही वर्ष लाग्दछ । उनले भने – “स्थानीय तहहरुले सडक खन्दा मापदण्डअनुसार निर्माण गर्नु आवश्यक छ ।”


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •