मानव बेचबिखन न्यूनीकरणमा जोड


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले विकृतपूर्ण सोचका कारण मानव बेचबिखन तथा ओसारपसारलाई आर्थिकोपार्जनको माध्यम बनाइएकोमा चिन्ता व्यक्त गरेकी छिन् ।

मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १२ औँ राष्ट्रिय दिवस मूल समारोहमा उनले सभ्य समाज निर्माणका लागि बाधक तथा जघन्य अपराधका रुपमा रहेको मानव बेचबिखनलाई न्यूनीकरण गर्न तीनै तहका सरकारबीच समन्वय र सहकार्यको खाँचो औँल्याइन् ।

उनले ओसारपसारका घटना हुन नदिने र भइहालेमा पीडित र प्रभावितलाई उद्धार गरी संरक्षणका लागि पुनःस्थापना केन्द्रलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले मानव बेचबिखन तथा ओसारपसारविरुद्धका अभियानमा सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्था र नागरिक समाजको समन्वयको खाँचो औँल्याइन् ।

मन्त्रालयका सचिव बुद्धिबहादुर खड्काले मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन २०६४ तथा नियमावली २०६५, मानव बेचबिखन विशेष गरी महिला तथा बालबालिकाको बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय कार्ययोजना, २०७१ र अन्तर्राष्ट्रिय सन्धिसम्झौतामा भएका प्रावधान कार्यान्वयनमा ल्याइएको जानकारी दिए ।

कुनै उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने, प्रचलित कानूनबमोजिमबाहेक मानिसको अङ्ग झिक्नेजस्ता विषय मानव बेचबिखन तथा ओसारपसारमा पर्छन् ।

उक्त कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियानकर्मी तथा संस्थालाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया