छाडा चौपायाबाट पैदल यात्रु सबैभन्दा बढी मर्कामा



नेपालबहस संवाददाता
 




Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बर्दिवास । महोत्तरी जिल्लाका नगर चोक, बजार क्षेत्र र बस्तीमा छाडा वस्तुको जगजगी नै भएको छ । घरपालुवा गाई, सुँगुर, बाख्रापाठा र घोडासहितका पशुवस्तु नगर क्षेत्रका चोक, बजार र बस्ती क्षेत्रमा छाडा छोडने परिपाटीले ट्राफिक समस्या बढाएसँगै फोहरसमेत थपिएको छ ।

बिहान मिरमिरे उज्यालो हुनासाथै यस्ता पशु पाल्नेले आफ्ना वस्तु फुकाएर बजार, चोकतिर लघार्ने गरेका छन् । चोक र बजार परिसरमा खुला विचरण गर्ने पशुवस्तुका कारण पैदल यात्रु सबैभन्दा बढी मर्कामा पर्ने गरेका छन् ।

बर्दिवासमा यिनै छाडा गाई पछ्याउने साँढेले हान्दा गत सात एकजना गम्भीर घाइते भएका थिए । त्यो साँढे नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय बर्दिवास र छिन्नमस्ता सशस्त्र प्रहरी गणका ५० भन्दा बढी जवान र यस्तै सङ्ख्याका सर्वसाधारणले तीन घण्टाभन्दा बढी प्रयत्न गर्नु परेको थियो ।

गाईबाहेक खुला चरणमा छाडिने सुँगुरका कारण त नगर क्षेत्रका बासिन्दा आजित नै भएका छन् । एकाबिहानै ‘च्वाँ–च्वाँ’ गर्दै ५०÷६० को सङ्ख्यामा आँगन-आँगन चाहार्ने सुँगुरको बिष्टा सोहोरेर हैरान भइएको बर्दिवास नगर क्षेत्रका गृहिणीको गुनासो छ ।

छाडा सुँगुरले त कतिपय दिन भान्सासम्मै पुगेर खानेकुरासमेत खाने, पोख्ने गरेर हैरान खेलाएको बर्दिवास–२ बारनचौडी बस्तीकी गृहिणी सकुन्तला शर्माले जानकारी दिइन् ।

गाई–गोरु, बाख्रापाठा आँगनमै आइपुग्दा लाठो देखाएर धपाउन सकिने भए पनि परम्परादेखि सुँगुर छुन परहेज गर्ने केही जाति समुदायको चलन छ । बर्दिवास मात्र नभएर जिल्लाका सबैजसो नगरपालिका क्षेत्रमा छाडा पशु वस्तुका कारण सर्वसाधारण आजित भएका छन् ।

बर्दिवासबाहेक औरही, गौशाला, रामगोपालपुर, जलेश्वर र मटिहानी नगरपालिका क्षेत्रमा छाडा चौपाया सडक ढाकेर गजधम्म बसिरहँदा ससाना सवारी साधन चलाउन र पैदल यात्रुलाई हिँड्नसमेत सकस पर्ने गरेको छ ।


Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •