छापा मिडियाबाट बिदा लिएका युवराज घिमिरे गोपालदास पत्रकारिताबाट सम्मानित


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । गोपालदास पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार युवराज घिमिरे सम्मानित भएका छन । प्रेस काउन्सिल नेपालको ४९ औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरेलाई उक्त पत्रकारिता पुरस्कार प्रदान गरेका हुन ।

वरिष्ठ पत्रकार तथा विश्लेषक घिमिरेले कान्तिपुर दैनिक र अन्नपूर्ण पोष्ट दैनिकमा प्रधान सम्पादकका रुपमा काम गरेका छन । उनी अहिले देश सञ्चार मल्टिमिडियाको प्रधानसम्पादक हुन । पुरस्कारको राशि एक लाख पाँच हजार रुपैयाँ छ । उनी पछिल्लो समय छापा मिडिया छाडेर डिजिटल मिडियामा केन्द्रित छन ।

यस्तै प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट कास्कीका राजबहादुर गुरुङ सम्मानित हुनु भएको छ । पुरस्कारको राशि रु एक लाख पाँच हजार छ ।

त्यस्तै प्रेस काउन्सिल आचारसंहिता पुरस्कार भने हाम्रो एफएम दोलखाले पाएको छ । पुरस्कारको राशि रु ५० हजार छ । प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट धनुषाका बृजकुमार यादव सम्मानित भएका छन । सो पुरस्कारको राशि रु ३० हजार छ ।

प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कारबाट कल्तरु साहित्यिक पत्रिका सम्मानित भएको छ । सो पत्रिकाका प्रकाशक सम्पादक नवराज पुडासैनीलाई राष्ट्रपति भण्डारीले सम्मान प्रदान गरेकी थिइन । पुरस्कारको राशि रु २० हजार छ ।

प्रेस काउन्सिल स्तम्भलेखन पुरस्कारबाट वरिष्ठ साहित्यकार अमर गिरी पुरस्कृत भएका छन । उक्त पुरस्कारको राशि रु २० हजार छ ।

त्यस्तै भाषागत पुरस्कारतर्फ ‘गुगुल्डी मासिक’ पुरस्कृत भएको छ । डोट्याली भाषाको पत्रिकाका सम्पादक प्रकाशक वीरबहादुर चन्द कञ्चनपुर प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएक हुन । सो पुरस्कारको राशि रु २० हजार छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State