fbpx

एसिड प्रहारबाट घाइते छोरीलाई डिस्चार्ज गर्न जादोरामलाई सकस


Share This

नेपालबहस संवाददाता    

‘सजाय भन्दा मलाई क्षतिपूर्ति चाहियो ‘

रौतहट । तेजाब प्रहारबाट मृत्यु भएका सम्झना दासका आमाबुवालाई छोरीको सम्झनाले पिरोलीनै रहेको थियो तर अहिले आर्थिक समस्याले झन पिरोलेको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका–६ की १८ वर्षीया सम्झना दास र उनकी बहिनी १५ वर्षीया सुस्मिता दासमाथि गत भदौ २६ गते राती सुतिरहेको बेला छिमेकीले तेजाब प्रहार गरेको थियो ।

काठमाडौमा उपचारको क्रममा असोज ७ गते राती सम्झना दासको मृत्यु भएको थियो । अर्की छोरी सुस्मिता दासको उपचार कीर्तिपुरमा भइरहेको छ । शुरुदेखि आर्थिक अवस्था कमजोर रहेको सम्झनाका बुवा जादोलाल दास अहिले छोरीको डिस्चार्जका लागि रकमका लागि भौतारिरहेका छन् । कीर्तिपुर बर्न अस्पतालले छोरीलाई लैजान ताकेता गरिरहेको छ तर, रकमको अभावमा उनले निकाल्न सकिरहेका छैनन् ।

छोरी सम्झना दासको दाहसंस्कारका लागि रौतहट गएका जादोलाल पैसाका लागि जनकपुर पुगेका छन् । सम्झानाको दाहसंस्कार असोज ९ गते गरिएको हो । यता, अस्पतालमा अर्की छोरीको अवस्था सुधार भइरहेको हुनाले डिस्चार्ज गर्न अस्पताल प्रशासनले भनेपछि छोरीको कुरुवामा बसेकी सम्झनाकी आमाले बताइन् ।

जोदोलालले पत्रकारसंग कुराकानी गर्दै भने, ‘पैसाको खोजीमा लागेको छु । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अस्ती ३ लाख रुपैयाँ दिने घोषणा गरेका थिए, सोही पैसा ल्याउनका लागि जनकपुर आएको छु । मुख्यमन्त्रीले रकम दिएपछि आजै नाइट बसबाट काठमाडौ गएर छोरीलाई डिस्चार्ज गराउँछु ।’

‘डिस्चार्ज गराउनका लागि पैसा चाहियो, पैसा नभएपछि काठमाडौं किन जानु रु’ उनले दुखेसो पोखे । उनले केन्द्र सरकारले हालसम्म कुनै चासो नलिएका कारण दुःख लागेको समेत बताए ।

उनले भने, ‘मेरा दुईटा छोरीमाथि एसिड प्रहार भयो, एउटाको निधन समेत भइसक्यो तर अहिलेसम्म केन्द्र सरकारले संवेदना समेत व्यक्त गरेको छैन, सहयोगको कुरा त धेरै टाढा छ ।’ ‘एक दिन माधवकुमार नेपाल आएर सरकारबाट सहयोग गराउने प्रतिबद्धता जनाएर गएपनि अत्तोपत्तो छैन’ उनले भने, ‘यदि आज मुख्यमन्त्रीले मलाई रकम दिनुभएन भने मेरो बिलिबाँठ हुन्छ ।’

यो घटना भएदेखि खर्च मात्र भइरहेको छ । शुरुमा प्रदेश २ को सरकारले एकलाख रुपैयाँ दिएको थियो । अरु अलिअलि सहयोग आएको थियो । ती सबै छोरीको दाहसँस्कार गर्दानै सकिएको बताउँदै जादोलालले भने, ‘सम्झनाको उपचारको रकम ४२ हजार त्यहाँ बाँकी छ, अर्की छोरीको पनि लामो समय उपचार भयो, अहिलेसम्म औषधीको मात्र ६३ हजार रुपैयाँ भएको छ । अरु हिसाब भएको छैन । अस्पतालले बेड फ्रि गरि दिने भनेको छ, त्यसको के गर्छ, त्यहाँ गएपछि मात्र थाह हुन्छ ।’

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै करिब ५० वर्षीय स्थानीय रामबाबु पासवानले उनीमाथि तेजाब आक्रमण गरेको पुष्टि भएको छ । प्रहरीले उनलाई पक्राउ गरेको छ ।

सम्झनाका बुवा जादोलाल भन्छन्, ‘जे हुनु थियो भयो, ‘सजाय भन्दा मलाई क्षतिपूर्ति चाहियो ।’मेरो एकजना छोरीको ज्यान पनि गयो, अर्को अपाङ्ग भइन् । उनको भरपोषणको व्यवस्था मैले खोजेको हुँ । अब मेरी छोरीलाई विहे गर्न पनि समस्या हुन्छ । हतपत कसैले उनीसँग विहे गर्न पनि मान्दैन । उसलाई मैले नै पालनपोषण गर्नुपर्छ त्यसैले मलाई क्षतिपूर्ति चाहियो ।’

तपाईको प्रतिक्रिया