सन्दर्भ : विश्व मौसम दिवस – मौसमी घटना बढेकोमा चिन्ता



नेपालबहस संवाददाता
 




काठमाडौं । मौसममा आएको परिवर्तनले अहिले विश्वलाई नै चिन्तित बनाउँदै छ । पृथ्वीको तापमान बृद्धि तथा मौसमी घटनामा वृद्धि हुँदै जाँदा त्यसप्रतिको चासो पनि बढिरहेको छ । तिनै चिन्ता र चासोहरूलाई सम्बोधन गर्दै शनिबार विश्व मौसम दिवस मनाइएको छ ।

विश्व मौसम दिवसको अवसरमा  कुरा गर्दैै जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सर्जुकुमार बैद्यले नेपालको सन्दर्भमा मौसम परिवर्तनको प्रभाव अझ व्यापक रहेको बताए ।

मौसममा आएका परिवर्तनका कारण हिमाल हिउँविहीन बन्दै गएका छन् भने हिमनदीको विचलन देखिएको छ । हिमताल फुटेर अचानक ठूलो बाढी आउनु, लामो समयसम्म पानी नपर्नु, बेमौसममा धेरै पानी पर्नु तथा मौसममा पानी नपर्नुजस्ता घटना बढिरहेका छन् ।

त्यस्तै अधिकतम तथा न्यूनतम तापक्रमको नयाँ नयाँ रेकर्ड कायम हुनुजस्ता विषम मौसमी घटनाहरूमा बृद्धि हुँदै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विषम् मौसमी घटनाहरुमा भएको वृद्धिसँगै विश्वव्यापी रुपमा नै मानिसको जनधनमा ठूलो क्षति पु¥याउनुका साथै यसले पर्यटन क्षेत्र तथा अर्थतन्त्रमा नै प्रतिकूल प्रभाव पारिरहेको मौसमविद्हरू बताउँछन् । विषम मौसमी घटनामा भएको बृद्धिसँगै मौसमको पूर्वानुमान कार्य दिनका दिन चुनौतीपूर्ण बन्दै गएको बैद्य बताउछन् ।

सन् १९७१ देखि यता हरेक वर्ष मौसम ०.०५६ डिग्री सेल्सियस अधिकतम र ०.००२ डिग्री सेल्सियस न्यूनतमका दरले तापक्रम फरक आइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, त्यसैगरी, पानी पर्ने दरमा हरेक वर्ष माइनस १.३३३ मिलिमिटरका दरले तथा पूर्व मनसुनको अवस्थामा प्रतिवर्ष माइनस ०.०८१ मिलिमिटरका दरले कमी आइरहेको छ ।

यसैबीच, विभिन्न कार्यक्रमको आयोजना गरी विश्व मौसम दिवस मनाइयो । हरेक वर्ष २३ मार्चका दिन विश्वव्यापी रूपमा मनाउने यो दिवस विश्वव्यापी रुपमा बढ्दो सहरीकरणका कारण वातावरण तथा मौसममा परेको प्रभाव र यसको रोकथामका लागि विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइयो । ‘सूर्य, पृथ्वी र मौसम’ भन्ने मूल नारासहित यो वर्ष विश्व मौसम दिवस मनाइएको हो ।

जल तथा मौसम विज्ञान विभागद्वारा राजधानीमा शनिवार आयोजित कार्यक्रममा नेपालमा मौसम पूर्वानुमान, यसको आवश्यकता र चुनौती तथा नेपालमा जलवायु सेवा र जल विज्ञान सेवाबारे कार्यपत्र प्रस्तुत गरिएको थियो ।

विश्व मौसम विज्ञान सङ्गठन ‘डब्ल्यूएमओ’को स्थापना २३ मार्चमा नै गरिएको हुनाले हरेक वर्ष यसै दिन यो दिवस मनाइने गरिन्छ । यो दिवसको लागि हरेक वर्ष अन्तर्राष्ट्रिय रूपमा नै एउटा नारा तय गर्ने गरिन्छ ।

अहिले नेपालसहित १९१ मुलुक विश्व मौसम विज्ञान सङ्गठनको सदस्य रहेका छन् । विश्व मौसम सङ्गठन सम्बन्धी महासन्धि कार्यान्वयनमा आएपछि सन् १९५० देखि यो दिवस विश्वव्यापी रूपमा मनाउन थालिएको छ । विषम् मौसमी घटनाका कारण विश्वभरि हरेक वर्ष १२ लाख भन्दा बढी मानिसको मृत्यु हुनेगरेको तथ्याङ्क छ ।


सम्बन्धित समाचार