तेस्रो लिङ्गीले नागरिकता फिर्ता गर्ने



नेपालबहस संवाददाता
 




हेटौँडा । प्रदेश नं ३ का लैङ्गिक अल्पसङ्ख्यक तेस्रो लिङ्गीले यसअघि आफूहरुले प्राप्त गरेको तेस्रो लिङ्गीको पहिचानसहितको नागरिकता फिर्ता गर्न लागेको बताएका छन् ।

पहिचानसहितको नागरिकता लिने प्रक्रियामा आफूहरुलाई विभेद गर्न लागिएको बताउँदै तेस्रो लिङ्गीले फिर्ता गर्नुपर्ने वाध्यता परेको जिकिर गरे ।

तेस्रो लिङ्गीको संस्था निलहिरा समाजले मङ्गलबार हेटौँडामा गरेको प्रदेश नं ३ स्तरीय प्रदेशका विभिन्न मन्त्रालय तथा सरकारी कार्यालयसँग अन्तरक्रिया कार्यक्रममा लैङ्गिक अल्पसङ्ख्यक तेस्रो लिङ्गी आन्दोलनका अगुवाहरुले उक्त धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष पिङ्की गुरुङले यसअघि देशभरका २०० तेस्रो लिङ्गीले नागरिकतामा अन्य लिङ्ग उल्लेख गरेर लिएको भए पनि हालका दिनमा नागरिकताका लागि झन असहज हुँदै गएको बताए । सङ्घीय संसद्ले नागरिकतामा तेस्रो लिङ्गी पहिचान उल्लेख गर्न निर्धारण गर्न लागेको केही शर्तहरुले लैङ्गिक अल्पसङ्ख्यकको सवालमा साँघुरो सोचाइ राखेको उनको आरोप छ ।

उनले फौजदारी तथा देवानी संहिताले पनि तेस्रो लिङ्गीको अधिकारलाई खुम्च्याएको उल्लेख गर्नुभयो । संसद्ले पहिचान उल्लेखका लागि व्यक्तिले लिङ्ग परिवर्तन गरेको हुनुपर्ने तथा चिकित्सकले तेस्रो लिङ्गी भएको प्रमाणित गर्नुपर्नेलगायतका शर्तहरु राखेर नागरिकता विधेयक ल्याउन लागेको जिकिर गरे ।

तेस्रो लिङ्गीको हकहितमा क्रियाशील फ्रेन्ड्स हेटौँडाका प्रमुख डियर किरणले तेस्रो लिङ्गी हुनु भनेको रोग नभएर महिला पुरुष भने जस्तै छुट्टै लैङ्गिकता जनाउने भावना भएकाले तेस्रो लिङ्गीलाई हेर्ने दृष्टिकोण र सोच सच्याउनुपर्ने उल्लेख गरे । सुरज थापाबाट डियर किरण बनेकी उनले तेस्रो लिङ्गी पनि महिला र पुरुष जत्तिकै समाज र देशलाई योगदान दिन सक्ने नागरिक भएको बताए ।

जन्मँदा छोरा भएर जन्मनुभएकी हेटौँडाकी अजिता भुजेलले तेस्रो लिङ्गी भएकै कारण आफूलाई घरबाट निकालिएको र सडकमा समेत दुःख पाएको बताए। कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाले लैङ्गिक अल्पसङ्ख्यकको हकहितको पक्षमा आफू सकारात्मक रहेको उल्लेख गर्दै आर्थिक सशक्तिकरणका लागि नगरपालिकाले सहयोग गर्ने उल्लेख गरे ।

हावाहुरीपीडितलाई नेकपाले सहयोग गर्ने

बाराका हावाहुरी पीडितका लागि नेकपा मकवानपुरले सहयोग गर्ने भएको छ । नेकपा मकवानपुरको मङ्गलबारको बैठकले प्रदेश नं २ मा हावाहुरीका कारण मारिएकाको परिवार तथा धनजनको क्षति भएकाहरुका लागि राहत सङ्कलन गरेर सहयोग गर्ने निर्णय गरेको हो ।

राहत सङ्कलनका लागि नेकपाले जिल्ला कमिटी, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडास्तरका कमिटीलाई परिचालन गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य मुनु सिग्देलले जानकारी दिए । नेपाली नागरिक समस्यामा परेको बेलामा सहयोग गर्नुपर्छ भनेर निर्णय गरिएको उनको भनाइ छ ।

सबै तहका कमिटीबाट सङ्कलन गरिएको राहत यही चैत २४ गतेभित्रमा नेकपा पार्टी कार्यालय पुष्पलाल पार्कमा जम्मा गर्ने तथा त्यसरी जम्मा भएको राहत सामग्री बारा र पर्साका हावाहुरीबाट प्रभावितका लागि पठाइने निर्णय भएको नेकपा केन्द्रीय सदस्य केदार न्यौपानेले जानकारी दिए ।

यसैबीच नेपाली काङ्ग्रेस प्रदेश नं ३ को संसदीय दलको कार्यालयले पनि हावाहुरीपीडितलाई थप रु १ लाख सहयोग गर्ने निर्णय गरेको छ । प्रदेशसभामार्फत तीन दिनको तलब सहयोग गरिसकेका काङ्ग्रेस सांसदले थप रु एक लाख सहयोग गर्ने निर्णय गरेको काङ्ग्रेस संसदीय दलले जनाएको छ । रासस


सम्बन्धित समाचार