fbpx

यस वर्ष पनि बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाए



नेपालबहस संवाददाता
 




काठमाडौं । भक्तपुरको मध्यपुर थिमीको बोडेमा परम्परादेखि चल्दै आएको जिब्रो छेड्ने जात्रामा यस वर्ष पनि बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाएका छन् ।

मध्यपुर थिमी ८ बोडेका ४७ वर्षीय श्रेष्ठले सोमबार सातौं पटक जिब्रो छेडाएका हुन् । यसअघि २०६२ देखि ०६५ सालसम्म लगातार चार वर्षसम्म जिब्रो छेडाएका श्रेष्ठले २०७४ र २०७५ सालमा पनि जिब्रो छेडाएका हुन् ।

जिब्रो छेडाउका लागी बुद्धकृष्ण बाग श्रेष्ठ तीन दिन भोकै बसेका थिए । करिब १ फिट लामो सियोलाई एक महिना देखि तेलमा डुबाइ राखिएको थियो । जिब्रँे छेड्नु अघि कर्मी नाइकेले सम्पूर्ण देवीदेवताको प्रार्थना गर्ने परम्परा छ ।

विशेष पहिरन र खुट्टामा तान्त्रिक घन्टी लगाई जिब्रो छेड्नु अघि शक्ति पिठहरुको दर्शन गर्ने र जिब्रो छेडिसकेपछि पनि चन्द्राकार बत्ती बोकी बोडे नगर परिक्रमा गरिएको थियो । दैवी शक्तिलाई आधार मानेर प्राचीनकालदेखि नै मनाइँदै आएको बोडेको सिङ्गो ऐतिहासिक,धार्मिक र संस्कृतिसँग सम्बन्धित यो जात्रा नीलबाराही देवगणसँग सम्बन्धित रहेको छ ।

किंवदन्तीअनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूतप्रेत, पिशाच, ख्याक तथा कङ्कालले बोडेका मानिसलाई धेरै दुःख दिने गर्थे । यो थाहा पाई तान्त्रिक भीमदत्त त्यहाँ आएर तान्त्रिक विद्याअनुसार बोडेभरि पासो राखेर दुःख दिने पिशाचलाई समातेर उसको जिब्रो छेडी बलेको महाद्वीप बोकाएर बोडे घुमाएपछि यो जात्राको परम्परा चलेको हो ।

भीमदत्तले अब उप्रान्त बोडेमा दुःख नदिने, बोडेमा रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भने झैँ सात वर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराई छाडिदिएको किंवदन्ती छ ।


सम्बन्धित समाचार