छोरी जन्माएको निहुँमा १३ वर्षकी सुत्केरी घर निकाला


Share This

नेपालबहस संवाददाता    

सुनसरी । सुनसरीमा एक हप्ता नपुगेकी सुत्केरी घर निकाला भएकी छन् । सुत्केरी भएको करिब तीन दिनमै छोरी जन्माएको भन्दै १३ वर्षकी ममता मरिक सुत्केरी घर निकाला भएकी छन्।

गत वर्ष १२ वर्षकै उमेरमा ममताका आमाबुबाले सिराहामा उनको बालविवाह गरिदिएका थिए । अहिले १३ वर्षकी ममता मरिक यतिवेला इनरुवा अस्पतालको शैयामा छिन् । छोरी जन्माएको निहुँमा परिवारले घर निकाला गरे पछि आमासँगै नवजात शिशुको समेत बिचल्ली भएको छ। घर निकाला पश्चात आफूलाई कोही चिनजानका व्यक्तिले अस्पतालमा छोडेर गएको उनले बताएकी छिन् । तर अस्पतालमा छोडेर जाने व्यक्ति को हुन् भन्ने बारेमा उनले बोलेकी छैनन् ।

चार दिन पहिले सुनसरीको इनरुवा अस्पतालमा भर्ना भएकी ममताकी छोरी समेत कुपोषित छ । ममतालाई मातृत्व के हो त परको कुरा, आफ्नो स्याहार कसरी गर्ने समेत ख्याल छैन । स्तनपान गराउनै जान्दिनन् । शिशु कसरी समात्ने र स्याहार सुसार गर्ने भन्नेमा उनी पूर्णतः अनभिज्ञ छिन् ।

उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको भनाइमा आमाको उमेर परिपक्क नभएकाले बच्चालाई खुवाउने दुध समेत पर्याप्त छैन । पौष्टिक आहार र उचित हेरचाहको अभावमा नवजात छोरी कुपोषित छिन् । कलिलो उमेरमा सन्तान जन्माएका कारण आमाको स्वास्थ्यमा समेत समस्या देखिएको डा. तुषार झाले बताए ।

एक वर्ष अघि सिराहाको गोलबजार घर भएका प्रकाश मरिकसँग बिवाह गरेकी ममता छोरी जन्माएपछि पारिवारिक हिंसाको शिकार भएकी हुन् । छोरी जन्माएको भन्दै श्रीमान र परिवारका सदस्यले ज्यान मार्ने धम्की दिनुका साथै खान लाउन नदिई तिरस्कारसँगै घर निकाला गरेको ममताले बताइन ।

अस्पतालका अनुसार ममतालाई रगतको अभाव, मुटुको समस्या छ । ममता मात्र हैन कुपोषित शिशु समेत बाँच्छन्् बाँच्दैैनन् भन्ने अन्यौल रहेको अस्पतालले जनाएको छ ।

अस्पतालले आमा र शिशु दुवैको स्वास्थ्यमा सामान्य सुधार देखिएको भए पनि डिस्चार्ज पश्चातको अवस्था यकिन गर्न भने नसकिने जनाएको छ । अस्पतालले भर्ना भएदेखि नै आमा र शिशुको उपचार निशुल्क गर्दै आएको जनाएको छ । आफू र आफ्नो सन्तानको भविष्य के होला भन्ने चिन्तामा डुबेकी ममताले आफूलाई सहयोग गरिदिन आग्रह गरेकी छिन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State