इन्टरनेटको खर्च डेढ अर्ब, नेपालमा अधिकांश ब्यान्डविथ युटयुब र फेसबुकमा खपत


Share This


नेपालबहस संवाददाता    165 Views

काठमाडौं । नेपाल ल्याइएको इन्टरनेट ब्यान्डविथबापत गत वर्षभर डेढ अर्बभन्दा बढी रकम बाहिरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार अघिल्लो वर्ष वैशाखदेखि चैतसम्ममा १ अर्ब ५८ करोड ४५ लाख रकम बाहिरिएको हो ।

ठूला दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र एनसेलसहित अन्य इन्टरनेट सेवा प्रदायकले ब्यान्डविथ भित्र्याएबापत यो रकम बाहिरिएको हो ।तर, नेपाल भित्रिने इन्टरनेट ब्यान्डविथ युटयब र फेसबुक चलाउनमा बढी खपत हुने गरेको जानकारहरू बताउँछन् ।

नेपालमा सञ्चालित अधिकांश दूरसञ्चार सेवा प्रदायकले भारतबाट इन्टरनेट ब्यान्डविथ खरिद गर्दै आएका छन् । दूरसञ्चार सेवाप्रदायकले ब्यान्डविथ र अन्य सेवाबापत पैसा विदेश पठाउँदा नेपाल दूरसञ्चार प्राधिकरणले सिफारिस लिनुपर्ने प्रावधान छ ।

१० हजार डलरभन्दा माथिको रकम तिर्दा मात्रै यस्तो सिफारिस लिनुपर्ने हुन्छ । यो तथ्यांकमा दूरसञ्चार सेवाप्रदायक र इन्टरनेट सेवा प्रदायकले तिरेको १० हजार डलरभन्दा कमको विवरण समावेश छैन ।

१० हजार डलरभन्दा कम रकम तिर्दा प्राधिकरणको सिफारिस नचाहिने भएकाले तिनको तथ्यांक नभएको प्रवक्ता अर्याल बताउँछन् । वल्र्डलिंकका सञ्चालक तथा इन्टरनेट सेवा प्रदायक एसोसिएसनका अध्यक्ष दिलीप अग्रवाल नेपालमा अधिकांश ब्यान्डविथ युटयुब र फेसबुकमा खपत हुने बताउँछन् ।

नेपालमा सबैभन्दा धेरै ब्यान्डविथ वल्र्डलिंकले भित्र्याउँछ । कम्पनीले ५० जीबीपीएस ब्यान्डविथ भित्र्याउँदै आएको प्राधिकरणको तथ्यांक छ ।योबाहेक दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले ३५ जीबीपीएस र एनसेलले करिब १७ जीबीपीएस ब्यान्डविथ भित्र्याउँदै आएको छ । नेपालमा १० भन्दा बढी संस्थाले इन्टरनेट ब्यान्डविथ भित्र्याउँदै आएका छन् । २०७३ सालमा भने इन्टरनेट ब्यान्डविथबापत १ अर्ब ३६ करोड ४३ लाख रुपैयाँ बाहिरिएको थियो ।

प्राधिकरणले उपलब्ध गराएको आर्थिक वर्ष २०७३ र ७४ को तथ्यांकअनुसार ब्यान्डविथबापत सबैभन्दा धेरै एनसेलले खर्चिएको थियो । तथ्यांकअनुसार उक्त आवमा एनसेलले ब्यान्डविथ र सोसँग सम्बन्धित सेवाबापत करिब ८३ करोड रुपैयाँको डलर सटही सिफारिस लिएको थियो ।

उक्त आवमा नेपाल टेलिकमले टेलिकमले ५५ करोड २९ लाखभन्दा बढी ब्यान्डविथ र त्यससँग सम्बन्धित सेवाबापत खर्चिएको थियो । आव २०७३र७४ मा वल्र्डलिंकले ब्यान्डविथ शुल्क तिर्न ३४ करोड १५ लाख रुपैयाँको सिफारिस लिएको थियो ।

प्राधिकरणले सार्वजनिक गरेको चैत महिनासम्मको तथ्यांकअनुसार नेपालका ४७ प्रतिशतभन्दा बढी जनसंख्यामा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच पुगेको छ । इन्टरनेट प्रयोगकर्ताको अधिकांश हिस्सा डाटा इन्टरनेट प्रयोगकर्ताले ओगटेका छन् । प्राधिकरणले ५१२ केबीपीएस गतिभन्दा माथिको इन्टरनेटलाई ब्रोडब्यान्ड मान्दै आएको छ ।

नेपालमा २७ लाख बढीले तारसहितको द्रुत इन्टरनेट सेवा उपभोग गरिरहेको प्राधिकरणको तथ्यांक छ । तारसहितको एक इन्टरनेट कनेक्सनलाई करिब ५ जनाले प्रयोग गर्छन् भन्ने आधारमा यो तथ्यांक निकालिएको हो ।

यस्तै नेपालमा थ्रीजी प्रयोगकर्ता ९१ लाख र फोरजी प्रयोगकर्ता १४ लाखभन्दा बढी रहेको प्राधिकरणको तथ्यांक छ । नेपाल टेलिकमका थ्रीजी प्रयोगकर्ता ४० लाख २८ हजार र एनसेलका थ्रीजी प्रयोगकर्ता ५१ लाख ४१ रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । टेलिकमका फोरजी प्रयोगकर्ताको संख्या ५ लाख ५९ हजार र एनसेलका फोरजी सेवाका प्रयोगकर्ता ८ लाख २२ हजार रहेको प्राधिकरणले जनाएको छ ।

इन्टरनेट सेवा प्रदायकहरूमध्ये सबैभन्दा धेरै ग्राहक वल्र्डलिंक कम्युनिकेसनका छन् । उसका ग्राहक चैतसम्ममा करिब १ लाख ९५ हजार पुगेको प्राधिकरणले जनाएको छ । प्राधिकरणबाट अनुमति लिएका २७ इन्टरनेट सेवा प्रदायकहरूको कुल ग्राहक ४ लाख १२ हजारभन्दा बढी छन् ।

यसमा नेपाल टेलिकमको एडीएसएल सेवाका ग्राहकहरू समावेश गरिएको छैन । प्राधिकरणका अनुसार टेलिकमका एडीएसएल सेवाका ग्राहक संख्या ९ लाख ७४ हजारभन्दा बढी छ ।

तपाईको प्रतिक्रिया