१०३ वर्ष पछि पनि विपीकै चर्चा


Share This

नेपालबहस संवाददाता    

२४ भदौ, काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले बिपी कोइरालाकोे विचारलाई आत्मसात् गरेर अघि बढे मात्रै देश अघि बढ्न सक्ने बताएका छन् ।

एक सय तीनौँ बिपी जयन्तीका अवसरमा काँग्रेस पोखरालेखनाथ महानगरपालिका–२६ वडा समन्वय समितिको आयोजनामा आज बिपी कुञ्ज उद्यानमा भएको प्रवचन कार्यक्रममा उनले २०१५ सालमा पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीको प्रधानमन्त्रीत्वकालदेखि नै नेपालमा विकास निर्माणको थालनी हुन सकेको हो बताए।

डा कोइरालाले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काँग्रेसलाई बहुमत दिलाएर बिपीको सपना पूरा गर्नेतर्फ कार्यकर्ता अग्रसर हुनुपर्नेमा जोड पनि दिए ।

सो अवसरमा बिपी चिन्तन प्रतिष्ठानका केन्द्रीय अध्यक्ष श्रीहर्ष कोइरालाले बिपीको चिन्तन र मननलाई आत्मसात् गर्न सके देशले छिट्टै विकासको फड्को मार्न सक्ने विचार व्यक्त गरे।

वडा समन्वय समितिका सभापति कृष्णमोहन भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल महिला संघ कास्कीका सभापति कोपिला रानाभाट, डा तुल्सी भट्टराई, निर्मला ढुंगाना, चिनियाँ थापालगायतले बिपीको योगदानमाथि प्रकाश पारेका थिए ।
उता नेपाली काँग्रेसको राजनीतिमा बिपीको चरित्र अवलम्बन गर्नुपर्नेमा नेताले जोड दिएका छन् । सदरमुकाम बेँसीशहरमा आयोजित बिपीको विचार : आजको सन्दर्भ विषयक विचार गोष्ठीमा बोल्दै काँग्रेस नेताहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रममा बोल्दै राज्य व्यवस्था समितिका अध्यक्ष दिलबहादुर घर्तीले राजनीतिक स्वतन्त्रताको बिपीको लडाइ काँग्रेसले कहिल्यै भूल्न नहुने बताए ।

उनले बिपीको विचारलाई आत्मसाथ गर्न आदर्श भन्दा व्यावहारिक प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए ।
“शासन नेताले चाहेजस्तो होइन जनताले चाहेजस्तो हुनुपर्छ” नेता घर्तीले भने “त्यो स्वतन्त्रताको लडाइ बिपीले गरेका थिए ।”
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति भेषबहादुर पौडेल, निवर्तमान सभापति कृष्ण कोइराला, पूर्व सभापति शंकरकान्त जोशी, तुलसीनारायण श्रेष्ठ, क्षेत्रीय सभापति वृषराज गुरुङलगायतले काँग्रेस नेतृत्वले बिपीको विचार आत्मसाथ गर्न नसक्दा पार्टी विचलनमा पुग्न लागेको धारणा व्यक्त गरे ।

कार्यक्रममा प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष विनोद न्यौपानेले बिपीको राजनीतिक इतिहासको बारेमा कार्यपत्र पेश गरेका थिए ।
यसैगरी प्रजातान्त्रिक विचार समाजका अध्यक्ष शालीग्राम अधिकारीले बिपीको साहित्यक जीवनको बारेमा कार्यपत्र पेश गर्नुभएको थियो भने सोही विषयमा नेपाल लेखक संघका केन्द्रीय सचिव नवीनचन्द्र घिमिरेले टिप्पणी गरेका थिए ।

प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई आत्मसाथ गर्नुपर्नेः सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले महामानव बिपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई आत्मसाथ गरी आम नेपाली अघि बढ्नुपर्ने बताएका थिए ।
बिपी जन्मजयन्तीको अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री बस्नेतले बिपीले योजना बनाउँदा जहिले पनि गरिब र विपन्न समुदायका वर्गलाई केन्द्रमा राखेर बनाएको चर्चा गर्दै ती योजना हामी अनुयायीहरुले पालना गर्नुपर्ने उल्लखे गरे।
उनले दीर्घकालीन रुपमा देशलाई सञ्चारमैत्री बनाउन सरकार लागिपरेको जानकारी दिए ।

त्यसैगरी सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले महामानव बिपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई आत्मसाथ गरी आम नेपाली अघि बढ्नुपर्ने बताएका छन् ।

बिपी जन्मजयन्तीको अवसरमा त्यहाँ आयोजित कार्यक्रममा मन्त्री बस्नेतले बिपीले योजना बनाउँदा जहिले पनि गरिब र विपन्न समुदायका वर्गलाई केन्द्रमा राखेर बनाएको चर्चा गर्दै ती योजना हामी अनुयायीहरुले पालना गर्नुपर्नेमा जोड दिए।
उनले दीर्घकालीन रुपमा देशलाई सञ्चारमैत्री बनाउन सरकार लागिपरेको जानकारी दिए ।

पार्टी संस्थागत ढंगबाट चलेमात्र बिपीप्रति सच्चा श्रद्धाञ्जलिः नेता सिंह
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी संस्थागत ढंगबाट चलेमात्र विश्वेश्वरप्रसाद कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि हुने बताएका छन्।

नेपाल तरुण दल काठमाडौँ क्षेत्र नं २ ले बिपी कोइरालाको १०३ औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको क्षेत्रीय तरुण क्षमता अभिवृद्धि भेलाको उद्घाटन गर्दै उनले पार्टी विधि प्रक्रिया र संस्थापक नेताले देखाएको आदर्शभन्दा पनि पद प्रतिष्ठाको बाटोमा अल्मलिएको बताए ।

पूर्वमहामन्त्री सिंहले अहिले पार्टी विधिसम्मत चल्न नसकेको उल्लेख गर्दै पार्टी कमजोर भए लोकतन्त्र नै कमजोर हुँदै जाने बताए । नेता सिंहले विपी जयन्तीका दिन पार्टीको नेतृत्वबाट नै पार्टी संस्थागत ढंगले लैजानुपर्छ भन्ने प्रतिबद्धता आएमात्र बिपीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए ।

यसैबीच नेपाल विद्यार्थी संघ काठमाडौँले विपी जयन्तीका अवसरमा आज साँझ शान्तिवाटीकामा दीप प्रज्वलन गरेको छ ।

दीप प्रज्वलनमा युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले बिपी कोइरालाले देखाएको बाटोमा पार्टी हिँड्न नसकेको बताए । उहाँले बिपीको सिद्धान्त, आदर्श अहिले पनि सान्दर्भिक भएको उल्लेख गरेका थिए ।

बिपीका विचार र चिन्तन आज पनि सान्दर्भिक

बिपी कोइरालाका विचार, चिन्तन र व्यवहार आज पनि त्यत्तिकै सान्दर्भिक रहेको बताइएको छ ।

बिपी जयन्तीको अवसरमा नेपाल लेखक संघ केन्द्रीय समिति र बिपी कोइराला स्मृति ट्रस्ट काठमाडौँले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँहरुले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र समतामूलक नेपाली समाज निर्माण गर्ने लोकतान्त्रिक समाजवादी विचार उहाँका राजनीतिक चिन्तन र व्यवहारका मौलिक पक्ष रहेको विचार व्यक्त गरे ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजालले ‘बिपी र नेपालको अर्थ–राजनीति’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेपछि बिपीले १५ वर्षमा हरेक नेपालीको जीवनस्तर मध्यम वर्ग सरह पु¥याउने अठोट लिएको स्मरण गराए ।

प्रा डा यज्ञप्रसाद अधिकारीले ‘बिपी र वर्तमान राजनीतिक परिवेश’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै बिपीमा आन्तरिक र बाह्य राजनीतिक अवरोधलाई आफ्नो नियन्त्रणमा राख्ने र जनता एवं राष्ट्रको हितमा निर्णय गर्नसक्ने अद्भूत क्षमता रहेको उल्लेख गरेका थिए ।

सो अवसरमा डा तुलसी भट्टराई, प्रा पद्मशरण रेग्मी, डा ज्ञानु पाण्डे, डा विपीन अधिकारी, डा लक्ष्मीशरण अधिकारी, डा सुरेश मल्ल, डा केशवराज चालिसे, प्रा डा कुसुमाकर न्यौपानेलगायतले विभिन्न कार्यपत्र प्रस्तुत गर्दै बिपीको योगदानका बारेमा प्रकाश पारेका थिए ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार