सडकमा फ्री वाईफाई सेवा सुरु


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारदेखि हनुमानढोका, पशुपतिनाथ, स्वयम्भू, बौद्ध, बालाजु बाईसधारा उद्यान र शंखपार्कमा फ्री वाईफाई सेवा सुरु गरेको छ ।

इन्टरनेट प्रदायक कम्पनी वल्र्ड लिंकको साझेदारीमा यी ६ स्थानमा फ्री वाईफाई सेवा सुरु गरिएको हो । आइतबार एक कार्यक्रमका बीच सेवाको उद्घाटन गर्दै काठमाडौं महानगरपालिकका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिकाको घोषित नीति अनुसार काठमाडौंको मुख्य ६ स्थानहरुमा फ्रि वाईफाई सेवा संचालनमा ल्याइएको बताए ।

उनले काठमाडौंलाई स्मार्ट सिटीको रुपमा विकास गर्न प्रविधिसम्बन्धि अन्य कामलाई तीव्रता दिने प्रतिवद्धता पनि व्यक्त गरे । मेयर शाक्यले काठमाडौंको धर्मपथमा ‘स्मार्ट पाटी भवन’ निर्माण गर्ने घोषणा पनि गरे ।

सो सेवालाई शुभारम्भ गर्न काठमाडांै महानगरपालिका र वल्र्ड लिंकबीच गत चैत्र १८ गते नै सम्झदारी भएको थियो । यसबीचमा परिक्षण गरेपछि मात्रै सो सेवाको औंपचारिक उद्घाटन गरिएको पनि मेयर शाक्यले जानकारी दिए ।

सो सेवाका लागि महानगरपालिकालाई कुनै पनि आर्थिक दायित्व पर्नेछैन । वल्र्ड लिंकको आर्थिक तथा प्राविधिक व्यवस्थापनका ती स्थानहरुमा फ्रि वाईफाई सेवाको व्यवस्था गरिएको हो । यी क्षेत्रमा मोबाईलमा अटोमेटिक वाईफाई कनेक्ट हुने व्यवस्था गरिएको छ ।

सेवामा सबैको पहुँच पुगोस् भनेर एक पटक वाईफाई चलाउनेले ३० मिनेट सेवा लिएपछि सिस्टमले उसलाई त्यस दिन कनेक्सन हुनबाट रोक्नेछ । तर अर्को एक्सेस प्वाईन्टबाट सो सेवा लिन पाउने व्यवस्था गरिएको वल्र्ड लिंकका आयोजना प्रमुख लक्ष्मण यादवले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया