fbpx

दुई दिनदेखि अवरुद्ध सञ्चार सञ्चालन


Share This

नेपालबहस संवाददाता    

डोटी । डोटीलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा दुई दिनदेखि अवरुद्ध भएको सञ्चार सम्पर्क सञ्चालन भएको छ ।

नेपाल टेलिकमको क्षेत्रीय कार्यालय अत्तरियाले आफ्नो प्रणाली ‘अपग्रेड’ गर्न थालेपछि आइतबार बिहानदेखि सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, बझाँङ, अछाम, बाजुरा र डोटीमा नेपाल टेलिकमको कुनै पनि सञ्चार साधनले काम गरेको थिएन ।

टेलिकमको अपग्रेडका कारण यहाँको ल्याण्डलाइन टेलिफोन सेवा तथा इन्टरनेट सेवा पूर्णरूपमा बन्द भएको भयो । करीब ३५ घण्टापछि सिस्टम अपग्रेड भएपछि अहिले यहाँका सम्पूर्ण सञ्चारका साधन सञ्चालन भएको टेलिकमले जनाएको छ ।

३३ वर्षपछि कालोपत्र

सहजपुर–बोगटान सडक शिलान्यास भएको ३३ वर्षपछि कालोपत्र हुने भएको छ । पूर्वमन्त्री तथा नेकपाका स्थायी समिति सदस्य लेखराज भट्टको लामो समयदेखिको पहलमा शिलान्यास भएको ३३ वर्षपछि मङ्गलबार बोगटान सडक कालोपत्र हुने भएको हो ।

उक्त आयोजनालाई सुदूरपश्चिम प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा छनोट गरेको बताइएको छ । उक्त सडक कैलालीको सहजपुरदेखि डोटीको बडिकेदारसम्म ५० किलोमिटर रहेको छ । उक्त सडक कालोपत्रका लागि बोलपत्र आह्वान भई सडक निर्माण अघि बढेको कुमार श्रेष्ठ निर्माण सेवाका कन्ट्र्याक्ट म्यानेजर ईश्वर बस्नेतले जानकारी दिए ।

उहाँका अनुसार सहजपुर–बोगटान सडक कालोपत्र रु दुई अर्ब पाँच करोडमा ठेक्का भई निर्माण अघि बढेको छ । कालोपत्र गर्ने कार्य ३० महीनाभित्र सम्पन्न गरिने जनाइएको छ ।

कैलालीको चुरे गाउँपालिकाभित्र पर्ने १८ किमी र डोटीको बिपी नगरदेखि बडिकेदारसम्म २८ किमी सडक कालोपत्रका लागि निर्माण कम्पनीका कर्मचारीहरू खटिइसकेको म्यानेजर बस्नेतले बताए ।

सडक कालोपत्र गर्ने क्रममा कैलाली र डोटीमा गरी झण्डै ६ हजार रूख काट्नुपर्ने अवस्था आएकाले सो प्रक्रिया पनि अघि बढाइएको निर्माण कम्पनीले जनाएको छ ।

भारतको एक्जिम बैंकको ऋण प्रक्रियाबाट नेपाल सरकारको सडक विभागले सडक कालोपत्र गर्न लागेको म्यानेजर बस्नेतले बताए । सहजपुरदेखि बडिकेदार गाउँपालिका हुँदै डोटीको बोगटानको सिमचौर भएर दीपायल जोड्ने उक्त सडक २०४२ सालमा शिलान्यास भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार