fbpx

नेविसंघको सभापतिमा ३२ वर्षे हदबन्दी : पौडेल र सिटौला पक्षको असहमति


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठकले नेविसंघको सभापति हुन ३२ बर्ष उमेर तोकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले असहमति जनाएका छन् ।

आइतबार बसेको कार्य समितिको बैठकको बहुमतले उमेर हद पारित गरेपछि पौडेल र सिटौला पक्षले असहमति जनाएका छन् । तर, उक्त निर्णयप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी लगायतका नेताले असहमति जनाएका हुन्।

संघले सर्वसममतिबाट स्वीकृतिका लागि प्रस्तुत गरेको नेपाल विद्यार्थी संघको विधान २०२७ सातौं संशोधन २०७५ लाई पन्छाएर विधि, प्रक्रिया र पद्धतिलाई पूर्णरुपमा उपेक्षा गरिएको भन्दै उनीहरुले फरक मत राखेका छन्।

छुट्टै विधान मसयौदा प्रस्तुत भएको र अध्ययन गर्ने समयसम्म नदिई विधान जस्तो महत्वपूर्ण कुरालाई बैठकमा प्रस्तुत नै नगरी पास गरिएको उनीहरुको भनाइ छ।

यो निर्णयले पार्टी तथा पार्टीका संस्थाहरुको संस्थागत विकास र लोकतान्त्रिक प्रक्रियामा गम्भीर आघात पारेको हाम्रो ठहर छ। हामी यो निर्णयमा असहमति प्रकट गर्दछौं, नोट अफ डिसेन्टमा उनीहरुले लेखेका छन्।

नेविसंघ सभापतिको उमेर हद ३२ हुने गरी निर्देशक समितिका संयोजक डा. प्रकाशरण महतले बैठकमा प्रस्ताव पेस गरेका थिए। पार्टीको संस्थापन पक्ष नेविसंघको सभापति बन्न ३२ वर्षे हदबन्दी लगाउने पक्षमा थियो भने इतर समूह हदबन्दी हटाउने पक्षमा थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार