कसरी मनाउदै छन् कांग्रेसका नेताहरुले तिहार ?


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाली हिन्दुहरुको महान पर्व दशैं पछिको दोस्रो ठूलो चाड तिहार धुमधामका साथ मनाइँदैछ । गाउँ सहर झिलिमिली बनेका छन् ।

उज्यालो पर्वका रूपमा लिइने तिहारलाई दाजुभाइ तथा दिदीबहिनीको पर्वका रूपमा लिइने भएकाले दाजुभाइहरू दिदीबहिनीकोमा आउने वा दिदीबहिनी दाजुभाइकहाँ गएर भाइटीका लगाउने चलन छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर सु–स्वास्थ्य दीर्घायुको कामना गर्छन् भने दाजुभाइले आफ्नो गच्छेअनुसारको दक्षिणा दिने गर्छन् ।

कसरी मनाउदै छन् कांग्रेसका नेताहरुले तिहार ? 

सभापति शेरबहादुर देउवा :
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यसपालिको तिहार विगतका वर्षझैं बूढानीलकण्ठस्थित आफ्नै निवासमा मनाउने तयारी गरेका छन् ।

उनका स्वकीय सचिव भानु देउवाका अनुसार सभापति देउवाले निवासमा देउसी खेल्न आउने विभिन्न समूहसँग रमाउँदै तिहार मनाउने छन् । साथै सदाका वर्षझैँ कांग्रेस नेत्री मिना पाण्डे र बहिनी गोमा शाहका हातबाट भाइटीका ग्रहण गर्ने तयारी रहेको स्वकीय सचिव भानुले जानकारी दिएका छन् ।

वरिष्ठ नेता रामन्द्र पौडेल :
कांग्रेस वरिष्ठ नेता रामन्द्र पौडेलले यस पटक भाइटीका नलगाउने भएका छन् । उनका ज्वाइँको निधन भएकाले तिहारको कुनै तयारी नगरेको पौडेलेको पारिवारिक स्रोताले जनाएको छ ।

सोही कारण नेता पौडेलले दशैंमा पनि भारतको उत्तराखण्डको हिमालयमा अवस्थित तीर्थस्थल केदारनाथधाम र बद्रीनाथ धामको भ्रमण गरेका थिए । तिहारपछि भने उनी कार्यकर्तासँग राजनीतिक भेटघाटका लागि देश दौडाहामा निस्कने योजनामा रहेको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

विमेलेन्द्र निधी, उपसभापति कांग्रेस :
कांग्रेसका उपसभापति विमलेन्द्र निधीले यसपालिको तिहार प्रदेश २ मा मनाउने भएका छन् । उनी भाइटीका ग्रहण गर्न सप्तरीस्थित राजविराजमा दिदी राधादेवी कर्णकहाँ जाने भएका छन् ।

त्यसका लागि उनी भाइटीकाको दिन बिहानै राजविराज जाने निधीका स्वकीय सचिव विकास विक्रमले जानकारी दिए ।

विजयकुमार गच्छदार, उपसभापति कांग्रेस :
कांग्रेसका नवनियुक्त उपसभापति विजयकुमार गच्छदार थारु परम्पराअनुसार तिहार मनाउने भएका छन् । थारु परम्पराअनुसार गच्छदारले भाइटीकाको साइतभन्दा केही समयपछि मात्रै बहिनी ‘काकाकी छोरी ‘ को हातबाट तीका लागाउने गच्छदारका सहयोगहरूले बताएका छन् ।

तिहार मनाउन उपसभापति गच्छदार गोवद्र्धन पूजाका दिन गृहजिल्ला मोरङ पुग्नेछन् । उनी तिहार तथा छठ पर्व मनाएर मात्रै काठमाडौँ फर्कने तयारीमा छन् ।

शशांक कोइराला, महामन्त्री :
कांग्रेस महामन्त्री शशांक काइरालाले विगतका वर्षझैँ यसपालिको तिहार काठमाडौंमै मनाउने तयारी गरेका छन् । कोइरालाले महाराजगञ्जस्थित निवासमा बहिनी सुजाता कोइरालाको हातबाट भाइटीका ग्रहण गर्ने उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

पूर्णबहादुर खड्का, महामन्त्री :
कांग्रेसका अर्का महामन्त्री पूर्णबहादुर खड्काले पनि यसपालिको तिहार नमनाउने भएका छन् । गतवर्ष फागुनमा आमाको निधन भएको र वर्षदिन नपुगेको भन्दै यसपालिको दशैं तिहार उनले नमनाउने भएका हुन् ।

विधान मस्यौदा समतिका संयोजक समेत रहेका खड्काले तिहारमा टीका नलगाए पनि तिहारमा कार्यकर्ता भेटघाट र विधानबारे छलफल गर्ने तयारी गरेका छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार