जलविद्युत आयोजनाविरुद्ध नगर प्रमुखले थापे खोचे


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाविरुद्ध बाह्रबिसे नगरपालिकाका नगर प्रमुख निमफुञ्जो शेर्पा उत्रिएका छन् । निर्माणधीन आयोजना निर्माणका लागि आवश्यक मध्यस्तताको भूमीका खेल्नुपर्ने प्रमुख आफैँले स्थानीय वासीन्दालाई समेत आयोजनाविरुद्ध उक्साउन थालेको समाचार स्रोतको दावी छ ।

आयोजनाविरुद्ध बाह्रबिसे नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि विवाद अझै चर्किएको छ । कर्मचारी सञ्चयकोषका कर्मचारी, संस्थापक शेयरधनी संस्था र ऋणदाता संस्थाका कर्मचारीका लागि शेयर खुला गरेकै दिन नगरपालिकाले आयोजनाविरुद्ध उजुरी दिएको थियो । आयोजना शुरु गर्दा प्रभावित क्षेत्रमा विभिन्न सहयोग गर्ने लिखित प्रतिबद्धता गरे पनि हालसम्म आयोजनाले कुनै काम नगरेकाले उजुरी दिएको नगरपालिकाका प्रमुख शेर्पाले बताएका छन् ।

नगरप्रमुख शेर्पासहितको टोलीले आयोजनाका निर्देशक मणिराम काफ्ले, कम्पनी सचिव टोमलाल सुवेदी, प्रमुख सुनिलकुमार लामा र डिजाइनर विजयलाल श्रेष्ठविरुद्ध प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका छन् । नगरपालिकाले आयोजनाका अख्तियार प्राप्त सबैलाई बोलाएर आयोजना शुरु हुँदाका बखत प्रभावित क्षेत्रका बासिन्दासँग गरेका लिखित प्रतिबद्धता पूरा गराउन प्रशासनलाई दबाव दिएको बुझिएको छ ।

आयोजनाले प्रभावित क्षेत्रका स्थानीयवासीले आयोजना कार्यान्वयन सरोकार समिति गठन गरेर कार्यविधिसमेत बनाएर आयोजनाले सहयोग गर्ने प्रतिबद्धता गरेको कुरालाई अहिले विशेष मुद्दा बनाएका छन् । सरोकार समितिका संयोजकमा नगर प्रमुख शेर्पा स्वयम् रहेका छन् । सरोकार समिति र स्थानीय सरकारले पटकपटक लिखित आग्रह गर्दासमेत आयोजनाले प्रतिबद्धता पूरा गर्न बेवास्ता गरेको बताइएको छ ।

आयोजनाले प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिक बजेट दिएर विभिन्न विकासका काम गर्ने प्रतिबद्धता गरेको थियो । प्रतिबद्धताअनुसार हालसम्म पनि बजेट दिइएको छैन् । आयोजनाको सुरुङ मार्गसहित अन्य संरचना निर्माणका क्रममा भत्काइएका स्वास्थ्यचौकी, विद्यालयलगायत संरचनासमेत अहिलेसम्म निर्माण नगरेको वडा नं ५ का अध्यक्ष बेलबहादुर रोक्काले बताए ।

प्रजिअ कृष्णप्रसाद अधिकारीले भने दुवै पक्षलाई छलफलमा बोलाउने तयारी गरिएको बताएका छन् । जिल्लाको हालसम्मकै ठूलो जलविद्युत् आयोजना मध्यभोटेकोशीले हालसम्म ३० प्रतिशत मात्र काम सकेको छ । सन् २०१३ मा निर्माण शुरु भएको सो आयोजनाले स्थानियबाट पटक–पटक हुने गरेका विरोधका कारण गति लिन सकिरहेको छैन । साढे १४ अर्बको लगानीमा निर्माण हुने उक्त आयोजनालाई चाहिने आवश्यक पूँजीका लागि कर्मचारी सञ्चयकोषसँग यसअघि नै ऋण सम्झौता भइसकेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार