निक्षेप ब्याजदरमा कुमारी बैंक अघिअघि,अरु पछि पछि ……


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सिसिडी रेसियो टाईट बनेपछि छटपटाएका वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्धति निक्षेपमा दैनिक जसो ब्याजदर बढाउन थालेका छन् । यो प्रतिस्पर्धामा कुमारी बैंक सबैभन्दा अगाडि देखा पर्न थालेको छ ।

बैंकले आज प्रकाशित गरेको ब्याजदर सम्बन्धि सुचनामा विशेष मुद्धती खातामा १३ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । तीन बर्षसम्मका लागि रकम जम्मा गर्न सकिने उक्त खातामा बचतकर्ताले न्युनतम १० हजार रुपैयाँदेखि जतिसुकै रकम पनि जम्मा गर्न सक्नेछन् । साथै थप ५० पैसा बचतकर्ताले आफ्नो बार्गेनिङ क्षमताको आधारमा थप गर्न सक्नेछन् । बैंकले साधारण बचत खाताको ब्याजदर पनि ७ प्रतिशत पुर्याएको छ ।

नेपाल बैंकर्स संघले व्यक्तिगत निक्षेपमा लाग्दै आएको ब्याजदरको सीमा हटाएर बैंकलाई नै स्वतन्त्ररूपमा निर्णय गर्न पाउने व्यवस्था गरे लगत्तै बैंकहरुबीच ब्याजदर बढाउने प्रतिस्पर्धा सुरु भएको हो । बैंकहरु बीचको भद्र सहमति तोडिएकै भोलिपल्ट जनताले १२ प्रतिशत र माछापुच्छ्रै बैंकले १२.५ प्रतिशत ब्याजदर प्रस्ताव गरेका थिए ।

कुमारी बैंकको चालू आर्थिक वर्षको प्रथम त्रैमासमा नै कर्जा निक्षेप अनुपात ७९.९१ प्रतिशत, कोषको लागत ७.९१ प्रतिशत, र आधार ब्याजदर ११.०९ प्रतिशत रहेको थियो ।

बिहीबार नै नयाँ ब्याजदर प्रकाशन गरेको अर्को वाणिज्य बैंक मेगाले पनि एक लाख मौज्दातमा पाँच वर्षसम्मको दीर्घकालनी बचतमा १२.५ प्रतिशतको ब्याजदर प्रस्ताव गरेको छ । बैंक अफ काठमाण्डू भने केही संयमित देखिएको छ । बैंकले एक सय दिनदेखि ६ महिना अवधिमा मुद्धतीमा १० प्रतिशत मात्र ब्याजदर प्रस्ताव गरेको छ ।

वाणिज्य बैंक मात्र होइन विकास बैंकहरु पनि उच्च ब्याजदर दिने होडमा उत्रिन थालेका छन् । लुम्बिनी विकास बैंकले पनि एक देखि दुई वर्ष अवधिको मुद्धती खातामा साढे १२ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । बैंकले बचत खातामा नै ८ प्रतिशत ब्याजदर दिने भएको छ । उता कञ्चन डेभलपमेन्ट बैंकले पनि २०० दिने मुद्धतीमा १२.७५ प्रतिशत ब्याजदरको घोषणा गरेको छ ।

बुधबार बसेको नेपाल वित्त कम्पनी संघको बैठकले पनि मुद्धती निक्षेपमा अधिकतम १२ प्रतिशत भन्दा बढी व्याज नदिने निर्णय गरेको छ । जसअनुसार गुडविल फाइनान्सले ३ महिनादेखि ५ वर्षे अवधिमा १२ प्रतिशत ब्याजदर दिने सूचना प्रकाशित गरेको छ ।

बैंकर्स संघको मंगलबारको बैठकले ब्याजदरमा यसअघि गरेको भद्र सहमति भङ्ग गर्दे व्यक्तिगत निक्षेपका हकमा ब्याजदर वाणिज्य बैंकले आफैले निर्धारण गर्न पाउने निर्णय गरेको थियो ।

यसअघि व्यक्तिगत मुद्धती निक्षेपमा अधिकतम १० र बचत खातामा ७ प्रतिशतसम्म मात्रै ब्याज दिन पाइने सहमति थियो । बैंकहरुले प्रकाशित गरेको ब्याजदरमा थप ०.५ प्रतिशत बिन्दु बढिसम्म ब्याज दिन सक्छन् । यस अनुसार वाणिज्य बैंकहरुले नै १३.५ प्रतिशतसम्म ब्याज प्रदान गर्न थालेपछि पूँजी बजारको प्रमुख घटक शेयर बजारमा बुधबार मात्र २२ अंक बढीको गिरावट देखिएको छ । बैंकहरुको ब्याजदर वृद्धिले बिहीबार शेयर बजारमा थप असर पुग्ने अनुमान गरिएको छ ।

बैंकहरु चालु आर्थिक वर्षको दोस्रो त्रैमासलाई ध्यानमा राखेर निक्षेप बाहिरिन नदिन पनि ब्याज बढाउन बाध्य भएका हुन् । ब्याजदर बढाउने प्रतिस्पर्धाले बैंकहरुको लागत बढेर ऋणको ब्याज अझ बढ्ने आँकलन गरिएको छ । एकपछि अर्काे गर्दै बैंकहरूले ब्याजदर बढाउन थालेपछि उद्योगी व्यापारीहरू सरकारले हस्तक्षेप गर्नुपर्ने माग समेत गर्न थालेका छन् ।

बैंकहरुको यो निर्णयले बैंकहरुलाई कर्जा निक्षेप अनुपात सन्तुलनमा राख्न राहत मिल्ने भएपनि कर्जाको चर्को ब्याज तिरिरहेका व्यवसायी भने थप मारमा पर्ने अवस्था आएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार