सुनकाण्ड : १६ जनाको मुद्दा पेशी उच्च अदालतमा फेरि स्थगित


Share This


नेपालबहस संवाददाता    139 Views

विराटनगर । सुन तस्करी र सनम शाक्य हत्या प्रकरण मुद्दामा पुर्पक्षको लागि कारागार चलान भएका ५ जना प्रहरी अधिकारीसहित १६ जनाको मुद्दा पेशी फेरि स्थगित भएको छ ।

जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएपछि उनीहरूले पुनरावलोकनका लागि उच्च अदालत विराटनगरमा निवेदन दिएका थिए । साधारण तारेखमा छाड्न माग गर्दै वकिलमार्फत् उच्च अदालत विराटनगरमा मुलुकी ऐनको अदालती बन्दोबस्ती महल १७ नम्बर अनुसार निवेदन दिएका थिए ।

निवेदन दिएपछि आज सुनुवाइको लागि पेशी चढेकोमा सरकारी वकिल तथा निवेदकका वकिलले नै पेशी स्थगित गर्न निवेदन दिएपछि आजको पेशी पनि स्थगित भएको हो ।

मुलुकी ऐनको अदालती बन्दोबस्ती महलको १७ नम्बर दर्ता गरेकामध्ये उच्च सरकारी वकिल कार्यालयको तर्फबाट टेकराज मल्ल ठकुरी, हेमन्त गौतम, पुण्यप्रसाद लामा, सञ्जय राउत, दिवेश लोहनी, विकासराज खनाल, गोविन्द निरौला र सम्बीरप्रसाद तोलाङ्गेको पेशी स्थगित गरिएको छ । निवेदक तर्फका वकिलले पनि पेशी स्थगितको लागि निवेदन दिएपछि आजको लागि तय भएको पेशी स्थगित भएको हो ।

यसरी निवेदकको तर्फबाट राजन थापा, एलबी मगर, बालकृष्ण श्रेष्ठ, विष्णुबहादुर खड्का, गोपालकुमार श्रेष्ठको पेशी स्थगित भएको उच्च सरकारी वकिलको कार्यालयका शाखा अधिकृत पुष्पराज बाँस्तोलाले जानकारी दिए ।

सरकारी वकिलको तर्फबाट १७ नम्बर दायर भएको अम्बरबहादुर थापा र विष्णुबहादुर खड्कासहित बालकृष्ण सञ्जेल र श्याम खत्रीको भने कैफियत प्रतिवेदन प्राप्त नभएकाले पेशी स्थगित भएको हो ।

जिल्ला अदालतले बुझाउनुपर्ने कैफियत प्रतिवेदन उच्च अदालतमा पेश भएको छैन । उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता चिरन्जीवी पराजुलीले सरकारी वकिलको तर्फबाट निवेदन दर्ता भएकाको कैफियत प्रतिवेदन नआएको जानकारी दिए ।

आदेश चित्त नबुझेर बन्दीले १७ नम्बरको निवेदन दर्ता गराएपछि जिल्ला अदालत मोरङले उच्च अदालत विराटनगरलाई ४ जना बाहेकको कैफियत प्रतिवेदन पठाइसकेको छ । कैफियत प्रतिवेदनमा अभियुक्तले दिएको बयान, घटना मुचुल्का र अदालतको आदेश सहितको विवरण समावेश गरिने उच्च सरकारी वकिल कार्यालयले जनाएको छ ।

मुद्दाको सम्पूर्ण कैफियत प्रतिवेदन उच्च अदालतमा बुझाएपछि अदालतले पेशी तोक्ने व्यवस्था अनुसार आज पेशी तोकिएकोमा कतिपय सरकारी वकिल र कतिपय निवेदकका वकिलको तर्फबाट पेशी स्थगित भएको हो ।

मोरङ जिल्ला अदालतमा करीब १ महिना लगाएर आदेश भएको सुनकाण्डको पेशी उच्च अदालत विराटनगरमा आज ४ वटा ईजलाशमा परेको थियो ।

१ नम्बर ईजलाशमा पुण्यप्रसाद लामा, गोपालकुमार श्रेष्ठ, विष्णुबहादुर खड्का, सञ्जयबहादुर राउत, हेमन्त गौतम, दिवेश लोहनी, गोविन्द निरौला र विकासराज खनालको परेको थियो । २ नम्बर ईजलाशमा सम्वीरप्रसाद तोलाङ्गेको पेशी थियो ।

३ नम्बर ईजलाशमा बालकृष्ण सञ्जेल, श्याम खत्री, अम्बरबहादुर थापा र विष्णुबहादुर खड्काको पेशी परेकोमा कैफियत प्रतिवेदन आउन बाँकी रहेको सरकारी वकिल कार्यालयले जनाएको छ ।

राजन थापा, एलबी मगरको पेशी पनि ३ नम्बर ईजलाशमै परेको थियो । ४ नम्बर ईजलाशमा बालकृष्ण श्रेष्ठ र टेकराज मल्ल ठकुरीको पेशी रहेको थियो ।

तपाईको प्रतिक्रिया