fbpx

प्रहरीका करोडपति लेखापालहरुको सरुवा चलखेल


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । आर्थिक वर्षको अन्त्यसँगै प्रहरीमा फेरि लेखापालहरूको व्यापक मात्रामा सरुवा चलखेल सुरु भएको छ ।

असई दर्जामा पनि लेखापालका रूपमा कार्यरत रहने र सई भइसकेपछि पनि सोर्सफोर्स र रकम बुझाएका भरमा लेखापालमा प्रवेश गर्ने र अवकाश हुनु २ वर्षअघिमात्रै लेखापालबाट हट्ने नेपाल प्रहरीमा आन्तरिक नीति रहेको थियो । सोही नीतिका कारण लेखापालमा कार्यरत रहेकाहरू अधिकांश त करोडौँपतिका रूपमा चिनिन्छन् ।

असईदेखि सईसम्म लेखापालका रूपमा कार्यरत रहेका अधिकांशको काठमाडौँ र उपत्यकाबाहिर पनि सुविधासम्पन्न ठूला शहरहरूमा आलिशान महल, गाडी रहेका छन् भने त्यस्ता लेखापालका छोराछोरीहरू महँगा स्कुल, कलेजहरूमा अध्ययन अध्यापन गर्ने गर्दछन् भने कतिपयले अष्ट्रेलिया र अमेरिकालगायतका देशमा समेत लाखौँ खर्च गरेर पठाएका छन् ।

दरबन्दीभन्दा बढी देखाएर रासन खाने, टिएडिए मिलाएर खाने, आन्तरिक बजेट विभिन्न बहानामा घोटाला गर्ने, केन्द्रीय बजेटका प्रमुखलाई ५० प्रतिशत कमिसन दिएर असारको अन्त्यमा रकम निकासा गराई बिल भौचर मिलाएर खाने प्रवृत्ति र प्रचलन नेपाल प्रहरीमा बिधमान छदैछ । त्यसैले पनि लेखापालमा बसेकाहरू करोडपतिका रूपमा देखिन्छन्, चिनिन्छन् । लेखापालहरूको यो भ्रष्टाचारलाई हालसम्म कुनैपनि आईजीपीले तोड्न सकेका छैनन् ।

अहिले केन्द्रीय बजेटबाट सुरुमा नै एकमुष्ठ ठूलो रकम बजेट चल्ने कार्यालयहरूमा पठाउने प्रचलन सुरु भयो । बजेट यथेष्ट भएकै कारण इन्धन, गाडी मर्मतदेखि स्टेशनरी, विभिन्न एवं मर्मतका नाममा हुने अनियमितताका चाङ अझै रोकिएको छैन । लेखापालको अर्को आर्कषण भनेको ड्युटी गर्दा अरूलाई भन्दा लेखापाललाई सुविधा बढी हुने, हाकिमहरूसँग नजिक हुने र रकम पनि चलाउन पाइने भएका कारणपनि लेखापालहरूको सरुवामा अलि बढी नै चलखेल हुने गरेको छ । प्रहरी मुख्यालयले सोर्सफोर्सका आधारमा सधैँ बजेट बढी हुने र सुविधा तथा सुगम जिल्लाहरूमा सरुवाका लागि दबाब दिने भएका कारण देशभरिका बजेट चल्ने कार्यालयका हकमा श्रेणी विभाजन गरेको छ ।

क, ख, ग, घ हुने गरी श्रेणी विभाजन गरेपछि त्यसैका आधारमा अर्कोपल्ट सरुवा गर्दा क बस्नेले ग अथवा घ जानुपर्ने नियम सुरु गरेपछि सरुवामा कम दबाब झेल्नु परेको बताइन्छ । तर पनि संगठन प्रमुखलाई पार्टीका नेतादेखि प्रधानमन्त्री, गृहमन्त्रीदेखि अर्थमन्त्रालय, गृहमन्त्रालय, महालेखा परीक्षक, महालेखा परीक्षकको विभागलगायतका ठाउँहरूबाट व्यापक मात्रामा लेखापालहरूको सरुवामा दबाब आउने गर्दछ भने आर्थिक प्रशासन महाशाखाको एसएसपीको सरुवामा प्रमुख हात हुने भएका कारण लेखापालहरूको सरुवामा सो महाशाखाका एसएसपीले नाजायज फाइदा लिने गरेका विगतका उदाहरणहरू सार्वजनिक भएकै हुन् ।

यसपटक पनि सरुवा हुने र मापदण्डमा परेका लेखापालहरूको चलखेल व्यापक मात्रामा भइरहेको छ । आर्थिक प्रशासन महाशाखामा अहिले एसएसपी प्रकाश अधिकारी रहेका छन् । सरुवाको लागि सदस्यसचिवको भूमिका निर्वाह गर्ने काम आलेपका डिएसपीले गर्ने गर्दछन् । अहिले आलेपमा शाखा प्रमुखका रूपमा डिएसपी टेकबहादुर कार्की रहेका छन् । गतसालको सरुवामा पनि उनै कार्की आलेपमा थिए र त्यतिबेला पनि उनी विवादमा परेका थिए । यस पटक पनि लेखापालहरूको सरुवाका लागि ठूलो चलखेल सुरु भइसकेको छ । कतिपय लेखापालहरू सरुवामा दबाब दिनका लागि काठमाडौँसमेत आइसकेका छन् भने कतिपय लेखापालहरू केही उच्च अधिकृतहरूको चाकडीमा व्यस्त भएको समेत देख्न पाइन्छ ।

हट्ने र सरुवा भई खाली हुने क श्रेणीका प्रहरी कार्यालयहरूमा– क्षेत्रीय सशस्त्र प्रहरी गण मुकारानी, जिप्रका धनकुटा, जिप्रका मोरङ, सप्र गण मुका ३ रातमाटे, जिप्रका सप्तरी, जिप्रका धनुषा, जिप्रका रौतहट, जिप्रका पर्सा, जिप्रका सिन्धुपाल्चोक, जिप्रका धादिङ, जिप्रका चितवन, जिप्रका मकवानपुर, सप्रगण नं. १ नक्साल, मनप्र परिसर भक्तपुर, मनप्र परिसर ललितपुर, जिप्रका तनहुँ, जिप्रका बाग्लुङ, दनिप्र गण रूपन्देही, जिप्रका नवलपरासी, जिप्रका पाल्पा, जिप्रका गुल्मी, जिप्रका बाँके, क्षेसप्र गण मुका सुर्खेत, क्षेसप्र गण मुका धनगढी, दनिप्र गण महेन्द्रनगर रहेका छन् ।

यसैगरी ख श्रेणीका जिल्लाहरूमा– जिप्रका पाँचथर, जिप्रका संखुवासभा, जिप्रका खोटाङ, जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर, जिप्रका मनाङ, जिप्रका अर्घाखाँची, जिप्रका डोल्पा, जिप्रका जुम्ला, जिप्रका हुम्ला, जिप्रका कालिकोट, जिप्रका जाजरकोट, क्षेप्रताके दिपायल र जिप्रका डडेल्धुरा रहेका छन् ।

ग श्रेणीका जिल्लाहरूमा– संघीय प्रहरी इकाइ कार्यालय धनगढी, सप्रइका धरान, क्षेट्राप्रका इटहरी, नेपाल प्रहरी आवासीय मावि धरान सुनसरी, सप्रइका पर्सा, नेपाल प्रहरी आवासीय मावि जिकडिया रौतहट, सुरक्षा प्रहरी गण सिंहदरबार, मनप्र वृत्त महाराजगञ्ज, संप्रइका नेपालगञ्ज, क्षेट्राप्रका कोहलपुर, संप्रइका जुम्ला, संप्रइका धनगढी, संप्रइका महेन्द्रनगर, नेपाल प्रहरी आवासीय मावि धनगढी, मनप्र वृत्त बौद्ध, मनप्र वृत्त सिंहदरबार, मनप्र वृत्त स्वयम्भू, इप्रका लाहान सिराहा रहेका छन् भने घ श्रेणीका कार्यालयहरूमा– इप्रका धरान सुनसरी, इप्रका इटहरी सुनसरी, इप्रका दमक झापा, इप्रका मिर्चैया सिराहा, इप्रका राजापुर बर्दिया, नेपाल प्रहरी विद्यालय सामाखुसी, नेपाल प्रहरी हेल्थ क्लब, प्रहरी प्रधान कार्यालय विशेष आर्थिक कल्याणकारी, नेपाल प्रहरी उच्च मावि साँगा (सरकारी), नेपाल प्रहरी अस्पताल कल्याण र आसरा सुधार केन्द्र रानीबारी रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार