बिमस्टेक सैन्य अभ्यासमा नेपाल नजाने, थाइल्यान्ड र म्यान्मारले के गर्लान् त ?



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । बिमस्टेक राष्ट्रबीच हुने संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी नहुने भएको छ । नेपालको सहभागितालाई लिएर विवाद उत्पन्न भएपछि प्रधानमन्त्री केपी ओलीले सैन्य अभ्यासमा नजान नेपाली सेनालाई निर्देशन दिएका छन् ।

आगामी भदौ २५ देखि ३१ गते (सेप्टेम्बर १०–१६) सम्म भारतको पुणेमा संयुक्त सैन्य अभ्यास हुँदैछ । प्राविधिक र आर्थिक सहायताका लागि बनेको संगठनभित्र सैन्य अभ्यासको विषयले प्रवेश पाउनु असान्दर्भिक भएको भन्दै सर्वत्र आलोचना भएपछि प्रधानमन्त्री स्वयंम्ले यो निर्णय लिएको स्रोतले बतायो ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को सैन्य अभ्यासको समापन समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापा समेत सहभागी हुँदै थिए । प्रधानमन्त्रीको निर्देशनपछि नेपाली सेनाले सहभागिताका लागि गरेको सम्पूर्ण तयारी स्थगित गरेको छ ।

‘बिमस्टेक राष्ट्रबीच हुने सैन्य अभ्यासमा नेपाली सेनाले सहभागिता नजनाउने भएको छ’, सैनिक उच्च स्रोतका अनुसार पुणे सैन्य अभ्यासमा जान गरिएको सबै तयारी स्थगित गरिएको छ ।

काठमाडौंमा भएको बिमस्टेक सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत सदस्य राष्ट्रबीच संयुक्त सैन्य अभ्यास हुने भनेका थिए । बिमस्टेक सदस्य राष्ट्रका सेनाबीच पहिलो पटक हुन लागेको सैन्य अभ्यास अन्तराष्ट्रिय आतंकवाद र अन्तरदेशीय संगठित अपराधविरुद्ध केन्द्रित रहने बताइएको छ ।

पुणे संयुक्त सैन्य अभ्यासमा सहभागी हुने तयारीमा रहेका मुलुक थाइल्यान्ड र म्यान्मारले समेत पुनर्विचार गर्ने सम्भावना रहेको सैनिक स्रोतले बताएको छ ।

बिमस्टेक सदस्य राष्ट्र भारतको आयोजनामा हुन लागेको उक्त अभ्यासमा भारतसहित बंगलादेश, भुटान, म्यान्मार, नेपाल, श्रीलंका र थाइल्यान्डका सेना सहभागी हुने तयारी थियो । अभ्यासमा प्रत्येक बिमस्टेक राष्ट्रका ३० जना सैनिक अधिकारी सहभागी रहने भएकाले नेपाली सेनाले समेत सोहीअनुसार तयारी गरिरहेको थियो ।

नेपालबाट पाँच जना अधिकृत र २५ जना अन्य दर्जाका नेपाली सैनिक अधिकारी सहभागी हुने तयार थियो ।

अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र अवैध लागुऔषध कारोबारविरुद्ध लड्न बिमस्टेक सदस्य राष्ट्रबीच थप सहकार्य बढाउने उद्देश्यले संयुक्त सैन्य अभ्यास हुने भनिएको छ ।

बिमस्टेक राष्ट्रका सेनाबीच अन्तर्राष्ट्रिय आतंकवादको योजना, कार्यान्वयन र तयारी गरिरहेका व्यक्ति वा समूहबारे जानकारी आदानप्रदान गर्नुका साथै त्यस्ता प्रकारका अपराधमा प्रत्यक्ष एवं परोक्ष रूपमा संलग्न व्यक्ति वा समूहको जानकारी आदानप्रदान हुँदै आएको छ ।

नेपाल र चीनबीच समेत अर्को महिना संयुक्त सैन्य अभ्यास हुँदैछ । चीनको सिचुवान प्रान्तको छेन्दुमा असोज १ देखि नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच संंयुक्त सैन्य अभ्यास हुन लागेको हो । अन्नपूर्ण पोस्ट


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार