अपराध नियन्त्रण गर्न मुलुकका विभिन्न क्षेत्रमा सिसी क्यामरा जडान



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । अपराध नियन्त्रण गर्ने उदेश्यले नेपाल प्रहरीले मुलुकका विभिन्न क्षेत्रमा एक हजार तीन सय ५७ स्थानमा सिसी क्यामरा जडान गरेको छ ।

चालु आर्थिक वर्षको शुरुआतदेखि अहिलेसम्म विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा सातै प्रदेशका संवेदनशील क्षेत्रमा सिसी क्यामरा जडान गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

प्रदेश १ मा एक सय ५७, प्रदेश २ मा एक सय ९१, प्रदेश ३ मा ८५, गण्डकी प्रदेशमा एक सय ४५, प्रदेश ५ मा दुई सय २५, कर्णाली प्रदेशमा दुई सय १२ र सुदूरपशिचम प्रदेशका एक सय ६५ स्थानमा क्यामरा जडान भएको सुवेदले बताए । महानगरीय प्रहरी कार्यालयअन्तर्गत एक सय ७७ स्थानमा सिसी क्यामरा जडान गरिएको छ ।

सिसी क्यामराका कारण गम्भीर अपराधका घटनामा दोषी पत्ता लगाउन सहज भएको उल्लेख गर्दै उनले अन्य क्षेत्रमा समेत क्यामरा राख्ने योजना बनाएकोे बताए। अहिलेसम्म विभिन्न सङ्घसंस्थाको सहयोगमा एक हजार एक सय २३ र प्रहरीको आफ्नै बजेटबाट दुई सय ३४ स्थानमा क्यामरा राखिएको छ । त्यस मध्ये ९२५ क्यामरालाई भने प्रहरीले आफैँ निगरानी गर्दै आएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न स्थानीय तहबाट आवश्यक बजेट छुट्याएर क्यामरा राख्ने कामसमेत भइरहेको छ । अहिलेसम्म सात सय ५१ स्थानीय तहसँग सम्झौता गरी प्रहरी र समुदायले शान्तिसुरक्षा तथा अपराध नियन्त्रणमा समाजमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ ।

गत कात्तिक ११ गतेदेखि शुरु भएको सो कार्यक्रमअन्तर्गत ७७ जिल्ला समिति, सात सय ४० पालिका समिति, पाँच हजार दुई सय ९३ वडा समिति, चार हजार आठ सय ८८ टोल समिति र पाँच हजार आठ सय ७४ विद्यालय सम्पर्क समिति गठन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार