३९ घण्टा पछि सुरुङमा पुरिएका ४ को जीवितै उद्धार


Share This


नेपालबहस संवाददाता    86 Views

संखुवासभा । अरुण तेस्रोको सुरुङ खन्ने क्रममा पुरिएका ४ जनाको आइतबार जीवितै उद्धार गरिएको छ । मकालु गाउँपालिकाको फ्याक्सिन्दामा पुरिएका उनीहरुको ३९ घण्टा पछि जीवितै उद्धार गरिएको हो ।

सुरुङको प्रवेशद्वारामा पहिरो झरेपछि उनीहरु शुक्रबार राति पौने ९ बजेबाट सम्पर्कविहीन भएका थिए । सुरुङमा गरिएको व्लास्टिङ सफा गर्ने क्रममा उनीहरु पहिरोमा पुरिएका थिए । सुरुङभित्र २ नेपाली र २ भारतीय कामदार पुरिएका थिए ।

कालिकोट सिउना गाउँपालिका-४ का प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका-१ का प्रेम परियार, भारत झारखण्डका बुधन मुण्डा र भारत विहारका नन्द किशोरको आइतबार बिहान ११ बजे सकुशल उद्धार गरिएको हो ।

शाही र परियार कामदार थिए भने मुण्डा अपरेटर र नन्द किशोर ईलेक्टोनिक मिस्त्री थिए । पहिरो करिब ६० मिटर माथिबाट खसेको थियो ।

उनीहरुको अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए । उद्धारमा स्काईभेटर र डोजरका साथै प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासिन्दा खटिएको डीएसपी श्यामकुमार सारुमगरले बताए ।

घटनास्थल सदरमुकाम खाँदबारीबाट ५० किलोमिटर टाढा पर्छ ।

तपाईको प्रतिक्रिया