१० अर्ब ठगी अभियोग लागेका बस्नेत धरौटीमा छुटे


Share This


नेपालबहस संवाददाता    87 Views

काठमाडौँ । घर जग्गा व्यवसाय र सहकारी बचतकर्ताको १० अर्व ठगी प्रकरणमा जेल चलान भएका सुधिर बस्नेत धरौटीमा रिहा भएका छन् । डिल्लीबजार कारागारको थुनामा रहेका बस्नेत सोमबार धरौटीमा रिहा भएका हुन् ।

काठमाडौं, भक्तपुर र स्याङजा जिल्ला अदालतमा मुद्दा खेपिरहेका बस्नेत तीनै अदातलले धरौटीमा रिहाको आदेशपछि छुटेका हुन् । ठगी मुद्धामा फरार रहेका बस्नेतलाई २०७३ पुष १२ गते राती काठमाडौँको धापासीबाट पक्राउ गरि जेल चलान गरिएको थियो ।

उतिबेला अदालतको फैसला कार्यान्वयन इकाइ, काठमाडौं प्रहरी र अपराध महाशाखाको टोलीले बस्नेतलाई पक्राउ गरेको थियो । बस्नेत त्यसअघि भारतका विभिन्न सहरमा लुक्दै आएका थिए । अदालतले उनलाई २ वर्ष कैदको समेत सजाय सुनाएको थियो ।

ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७२ चैत १६ गते दुई बर्ष कैद र ५ करोड ९१ लाख ९७ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । त्यस्तै काठमाडौं जिल्ला अदालतले अर्को ठगीको मुद्दामा २०७३ असार ३० गते ४ लाख ९४ हजार जरिवाना र ६ महिना कैद फैसला गरेको थियो ।

भक्तपुर जिल्ला अदालतले पनि ठगी मुद्धामा २०७२ मंसिर ७ गते दुई बर्ष कैद र ८४ हजार ६ सय ४८ रुपैयाँ जरिवाना तोकेको थियो ।उनीमाथि ओरियन्टल सहकारी मार्फत सर्वसाधरणको अर्वौँ निक्षेप अपचलन, बैंकहरुको ऋण कारोबारमा जोडिएका करिब ८ हजार जनालाई ठगी गरेको आरोप छ ।

आयुषा डेभलपर्स, ओरियन्टल विल्र्डस र कोहिनुर हाउजिङमार्फत पनि उनले सर्वसाधरणलाई ठगी गरेका थिए । बस्नेतले घर वा अर्पाटमेन्ट बनाउन सर्वसाधरणसँग करोडौ रुपैयाँ उठाउँथे र सोही घरजग्गा बैंकमा धितो राखेर रकम निकाल्थे । मैतीदेवीमा केन्द्रीय कार्यालय रहेको सहकारीको शाखा भक्तपुरदेखि पाटन, साँखु हुँदै जनकपुरसम्म विस्तार भएको थियो । जसबाट ४ अर्बभन्दा बढी निक्षेप संकलन भएको थियो ।

२०७० माघ ७ मा सरकारले सहकारीमार्फत निक्षेपकर्ताको रकम जोखिममा परेपछि विशेष अदालतका पूर्वन्यायधिश गौरीबहादुर कार्कीको संयोजकत्वमा बचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारी संस्थाको छानविन गर्न जाँचबुझ आयोग गठन गरिएको थियो ।

आयोगले सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पेश गरेको प्रतिवेदनका अनुसार १ सय ६२ सहकारीमा मात्रै सर्वसाधरणको १० अर्ब ८७ लाख रुपैयाँ फसेको छ । जसमा बस्नेतको ओरियन्टल ऋण तथा सहकारीबाट ६ हजार ८ सय ९४ जनाको ४ अर्ब २० करोड साँवा र ब्याज १ अर्ब २९ करोड रुपैयाँ फसेको थियो ।

त्यस्तै बस्नेतको हाउजिङमा सर्वसाधरणको एक अर्ब ३६ करोड रुपैयाँ फसेको निष्कर्ष प्रतिवेदनले निकालेको थियो । जरीवाना भुक्तानका लागि डिल्लीबजार कारगार चलान भएका बस्नेतलाई काठमाडौं, भक्तपुर र स्याङजा जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएका हुन् । दैनिक नेपाल बाट

तपाईको प्रतिक्रिया