विद्युत चोर्ने होटलले तिर्‍यो साढे तीन लाख जरिवाना !


Share This


नेपालबहस संवाददाता    

थ्री-फेज मिटरकालागि बुझायो आवेदन

काठमाडौं। विद्युत चोरी गर्दै होटल चलाउने काभ्रेको नमोबुद्ध नगरपालिका १ मथुरापाटीमा सञ्चालित अर्गानिक हिमालय होटलले, तीन लाख ३० हजार २२४ रुपैयाँ जरिवाना तिरेको छ।

उक्त जरिवाना रकम तिरेपछि होटलले थ्री(फेज मिटरकालागि पनि आवेदन दिएको प्राधिकरणले जनाएको छ। यसअघि भने होटलले सिंगल फेजको लाइन जडान गरी, अत्यधिक विद्युत खपत गराउने उपकरणहरु विद्युत चोरी गरेर चलाउँदै आएको थियो।

होटलले बिजुली चोरेको पत्ता लागेपछि सुरक्षाकर्मीसहित आइतबार खटिएको नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रको टोलीले प्राधिकरणको वितरण प्रणालीबाट डाइरेक्ट हुकिङ गरी बिजुली प्रयोग गरेको प्रमाण फेला पारेको थियो।

होटलले बि।सं।२०६४ सालमा गार्हस्थतर्फका ग्राहकले प्रयोग गर्ने सिंगल फेजको मिटर जडान गरेको थियो। तर, कम क्षमताको लोड लिएर चोरीमार्फत धेरै विद्युत खपत गर्ने विद्युतीय उपकरण प्रयोग गरिरहेको टोलीले फेला पारेको थियो।

गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन, गृह सचिव प्रेमकुमार राई, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल लगायतको केही दिनअघिको बैठकले विद्युत चोरी नियन्त्रणलाई परिणाममूखीरुपमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो।

यही आधारमा प्रत्येक जिल्ला प्रशासन कार्यालय र प्राधिकरणका शाखा कार्यालयले समन्वय गरी संयुक्तरुपमा चुहावट नियन्त्रणको कार्ययोजना बनाएर काम गरिरहेका छन्।

प्राधिकरणले विद्युत चोरी नगर्न तथा मिटर जडान गर्न आग्रह गर्दै माईकिङ गर्ने, प्रशासनको सहयोगमा हुकिङ हुने क्षेत्रमा अपरेसन सञ्चालन गर्ने लगायतका काम अभियानकै रुपमा मुलुकभरी सञ्चालन गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया