ब्याजीलाल र बैंकको ११ करोड भन्दा बढी रकम लिएर धनुषाका हार्डवेयर व्यापारी गायब


Share This

नेपालबहस संवाददाता    

जनकपुरधाम । असार मसान्तका दिनसम्म उनको तामझाम र चुरिफुरि हेर्दा जो कोहीले पनि यिनी रातारात फरार हुन्छन् भन्ने कल्पनासम्म गरेका थिएनन् ।

दैनिक लाखौको कारोबार हेर्दा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका हार्डवेयर व्यापारी रामलखन ठाकुर,ईन्दल ठाकुर र श्याम ठाकुर करोडौं रकम बजारबाट उठाएर साउन १ गते रातिबाट फरार भएका छन् ।

महेन्द्रनगरका ठूलै व्यापारीका रुपमा गणना हुने यी बावु छोराहरु यतिबेला मोबाइल स्वीच अफ गरेर धनुषाबाटै स -परिवार भुमिगत भएका हुन् ।अझ रोचक कुरा त के छ भने उनीहरुले आफ्नो सामाजिक सञ्जाल फेसबुक नै डियाक्टिभ समेत गरेको देखिएको छ ।

अभिषेक टेड्रर्स र अर्को एक गरी दुई दुई वटा हार्डवेयर पसल संचालन गरेका यी बाबुछोराले धनुषाका ब्याजीलालहरुको समेत करोडांै रुपैया मिटर ब्याजमा लिएर फरार भएका हुन् ।

साथै जनकपुरधामका जगदम्बा सिमेन्ट र रडका डिलर दिनेश कुमार भगतको समेत ३४ लाख २१ हजार लिएर गायब भएपछि व्यापारी भगतले यिनीहरुलाई पक्राउ गरी प्रहरीमा बुझाउने वा बसेको ठाउको जानकारी दिएमा ५ लाख रुपैया पुरुस्कार समेत दिने घोषणा गरेका छन् ।

प्रहरीमा उजुरीको चाङ्ग,एनएमबी बैंक र साहुमाहजनको रुवाबासी

महेन्द्रनगरमा कुनै समय इज्जतदार व्यापारीका रुपमा चिनिने यी बाबुछोराले महेन्द्रनगर र अन्य आसपासका सर्वसाधारण,व्यापारी तथा साहुमाहजनबाट चर्को ब्याजको लोभ देखाउदै ११ करोड भन्दा बढि रकम उठाएर ठगी गरेको उजुरीको चाङ्ग यतिबेला जिल्ला प्रहरी कार्यालय धनुषामा परेको छ ।

यो रकम अझ धेरै हुनसक्ने अनुमान प्रहरीको छ । ठूलो मात्रामा रकम लिएर फरार भएपछि एनएमबी बैंक र साहुमाहजनको रुवाबासी चलेको छ । मिटर ब्याजको लोभ देखाएर यी ठग बाबुछोराले विभिन्न साहुमाहजन र व्यक्तिहरुबाट २५ लाख देखि २ करोडसम्म उठाएर फरार भएका हुन् ।

रामलखन बाबु हुन् भने, इन्दल र श्याम दाजुभाइ हुन् । यिनीहरुले ठगी गर्ने उदेश्यले सुनियोजित रुपमै असार मसान्तको समयमा बजारबाट उधारो धमाधम उठाउने र गोदाम तथा पसलका सामानहरु सस्तो मुल्यमा नगदमा बिक्री गरी फरार भएका हुन् ।

समाचार अनुसार उनीहरुका एक छोरा र २ छोरी अध्ययनको लागि भन्दै एक बर्ष अगाडि नै जापान गएका छन् भने, काठमाडौं बसेर अध्ययन गर्नेहरु पनि एकाएक गायब भएका छन् ।

यिनीहरुले महेन्द्रनगरको घरजग्गा धितो राखेर एनएमबी बैंकबाट लिएको १ करोड ८० लाख क्रणको सावा ब्याजसम्म नतिरी फरार भएपछि बैंकलाई पनि ठूलो टाउको दुखाइको विषय बन्न पुगेको छ । उनीहरु भारतको कुनै शहरमा लुकेर बसेको हुनसक्ने प्रहरीको अनुमान छ ।

बच्चाकुमार राय कुर्मीबाट….

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार