छिमेकीको कुखुरा मार्न खानेपानीमा विष हाल्ने पक्राउ



नेपालबहस संवाददाता
 




ओखलढुंग। ओखलढुंगमा छिमेकिको कुखुरा मार्ने हेतुले खानेपानीको मुहानमा विष हाल्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्धिचरण नगरपालिका–२ ठूलाछापका ३४ वर्षीय सिताराम सार्की रहेका छन् ।

उनले गाँउमा बितरण गरिएको छरछरे सितलादेवी खानेपानी आयोजनाको पाइपमा विष हालेका थिए । खानेपानीको पाईपमा विष हालेर उपभोक्तालाई मार्न खोजेको भन्दै स्थानीयले प्रहरीमा उजुरी दिएपछि सार्कीलाई घरैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पाईपलाईनमा विष हाले नहालेको बिषयमा अनुसन्धान गर्दा खानेपानीको पाइपमा विष हालेको पाईएको र पाइपबाट व्यक्तिका गोठमा राखिएको प्लाष्टिक ट्यांकीसम्म विष पुगेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए ।

आरोपित सार्कीले छिमेकीले पालेको ब्रोइलर कुखुरा मार्नका लागी विष हालेको स्वीकार गरेका छन् । अन्य उभोक्ताहरुले खानेपानीमा विष हालेर समुदायका विभिन्न व्यक्तिको ज्यान लिन खोजेको भन्दै आरोपित सार्कीलाई ज्यान मार्ने उद्योग अन्र्तगत कारवाही हुनुपर्ने माग गरेका छन् ।

प्रहरीले भने समुदायबाट आउने जाहेरी हेरेर मुद्दा अघि बढाइने बताएको छ ।