३ करोड उठाएर अफ्रिकामा अलपत्र छाड्ने दुई जना पक्राउ



नेपालबहस संवाददाता
 




काठमाडौं । प्रहरीले क्यानडा र फ्रान्समा मल्टिपल भिषा र आर्कषक रोजगारको प्रलोभनमा १४ जना युवायुवतीलाई अलपत्र बनाउने दुई जनालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोले दाङकी प्रेरणा लक्ष्मी मल्ल र बिराज यादवलाई पक्राउ गरेको हो। उनीहरु विरुद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो। दुबै आरोपी कञ्चनपुरबाट पक्राउ परेका हुन्।

ब्युरोका अनुसार पीडितहरुलाई मल्ल र यादवले नेपालबाट भारत–इथोपिया हुँदै गिनीको राजधानी क्रोनाक्री पु¥याएका थिए। त्यहाँ नेपालबाट लगेका युवायुवतीलाई ६ महिनादेखि १ वर्षसम्म बन्धक बनाएर राखिएपछि दुबै फरार भएका थिए।

नेपाल फर्किएका पीडितहरुले गत चैत ४ र १५ गते ब्युरोमा जाहेरी दिएपछि मल्ल र यादवको खोजी तीब्र बनेको थियो। दुबै विरुद्ध बैशाखमा डिफ्युजन नोटिस जारी गरिएको थियो।

ब्युरोका एसपी सानुराम भट्टराईका अनुसार पीडितहरुसँग १५ देखि २५ लाखसम्म लिएर गिनीसम्म पुर्याईएको थियो। उनका अनुसार मल्ल र यादवले करिब ३ करोड रुपैयाँ ठगी गरेको अनुसन्धानमा खुलेको हो।

‘क्यानडा र फ्रान्समा रोजगार र भिषाको प्रलोभनमा फसाएर रकम असुलेका दुबैविरुद्ध मानव बेचबिखन तथा ओसारपसारमा कारबाही भइरहेको एसपी भट्टराईले बताए । दुबैजना यही भदौ १३ मा पक्राउ परेका हुन्।