बिम्स्टेक : सुरक्षाको मुख्य जिम्मा सेनालाई



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने सात राष्ट्रका अतिविशिष्ट पाहुनाका लागि दिइने सुरक्षा व्यवस्था पूरा भएको छ ।

सुरक्षा संवेदनशीलताकै कारण भदौ १४ र १५ गते काठमाडौं उपत्यकाका विद्यालयमा बिदासमेत दिइएको छ । बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सुरक्षा चूक हुन नदिन सरकारले सम्पूर्ण सुरक्षा संयन्त्र परिचालन गरेको छ ।

बिहीबार र शुक्रबार दुई दिन काठमाडौंमा हुने सम्मेलनस्थललगायत सम्मेलनमा आउने राष्ट्रप्रमुख र प्रतिनिधि बस्ने होटल, उनीहरु आवतजावत हुने क्षेत्रको सुरक्षामा चारओटै सुरक्षा निकाय तैनाथ गरिएको हो ।

सरकारले सुरक्षाको मुख्य जिम्मा नेपाली सेनालाई दिएको छ । चारओटै निकायका १८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।नेपाली सेनाको कमान्डमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी मैदानमा खटिएका हुन् ।

जसमा पहिलो घेरामा नेपाली सेना, दोस्रोमा नेपाल प्रहरी, तेस्रोमा सशस्त्र र चौथोमा राष्ट्रिय अनुसन्धानका कर्मचारी खटाइएको छ । भदौ १४ र १५ गते हुने सम्मेलनमा भाग लिन म्यानमारका राष्ट्रपति यु विन मिन्ट मंगलबार तथा बुधबार बिहान भुटानका प्रधानन्यायाधीश एवं अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङ्चुक र दिउँसो श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना काठमाडौं आएका छन् ।

बिहीबार भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्यान्डका प्रधानमन्त्री जनरल यन ओ चो काठमाडौं आइपुग्नेछन् ।

अतिविशिष्ट व्यक्तित्वको भ्रमण र कार्यक्रम भएकाले कुनै चूक हुन नदिन सुरक्षाका सबै संयन्त्र परिचालन गर्नुका साथै यातायातका साधानमासमेत जोरबिजोर प्रणाली लागू गरिएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •