बाँकेमा लागूऔषध नियन्त्रण गर्न प्रहरी प्रशासनको सतर्कता


Share This


नेपालबहस संवाददाता    

नेपालगञ्ज । बाँके जिल्लामा लागूऔषधको सेवन र ओसारपोसार नियन्त्रणको प्रयास प्रभावकारी हुन नसकेकोमा चिन्ता व्यक्त गर्न थालिएको छ ।

यस जिल्लामा लागूऔषधका सेवनकर्ता र कारोबारीलाई बेलाबखत प्रहरीले पक्राउ गरेपनि नतिजा सन्तोषजनक भएको पाइँदैन । अहिले बाँके जिल्लालाई लागूऔषधमुक्त र दुव्र्यसनीलाई पुनःस्थापना गर्नका लागि प्रहरी प्रशासनले सतर्कता बढाएको छ ।

सीमानाकामा चेकजाँचमा कडाइ गर्नुका साथै दुव्र्यसनीका लागि विभिन्न संघसंस्थाले पुनःस्थापनाको कार्यक्रम पनि सञ्चालन गरेको पाइन्छ ।

यति हुँदा पनि यस जिल्लामा लागूऔषध कारोबार र सेवनकर्ताको संख्यामा कमी नआएको सरोकारवाला निकायका पदाधिकारी नै बताउँछन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार जिल्लामा लागूऔषध सेवन र कारोबार नियन्त्रणका लागि स्थानीय प्रशासनले सरोकारवाला प्रहरी, सामाजिक संस्था, नागरिक समाजसँगको सहकार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको भए पनि नियन्त्रणको प्रयासअनुसार नतिजा आउन भने नसकेको बताए ।

चालू आवको अहिलेसम्म जिल्ला प्रहरी कार्यालय, बाँकेले २२९ जना लागूऔषध सेवनकर्तालाई पक्राउ गरेको छ । बाँके जिल्लामा खुला सिमाना भएका कारण लागूऔषध नियन्त्रण चुनौतीपूर्ण भएपनि केही महत्वपूर्ण सफलता हासिल भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताए ।

नेपालगञ्जस्थित सहारा हाउसले चालू आवको अहिलेसम्म १५० जनाको पुनःस्थापना गरिसकेको हाउसका कार्यकारी प्रमुख अभिराज क्षेत्रीले बताए ।

उनका अनुसार सानैदेखि बालबालिकालाई पारिवारिक वातावरण दिन सकियो भने धेरै हदसम्म युवालाई लागूऔषधको कुचक्रबाट टाढा राख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया