हराएका १४ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई


Share This


नेपालबहस संवाददाता    98 Views

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका सवारी साधनको खोजविन अभियानलाई तिव्र बनाएको छ । अभियान अन्तर्गत दुई तीन महिना अगाडि हराएका चोरीका १४ वटा मोटरसाइकल खोजी गरी रामशाहपथस्थित कार्यालयबाट सम्बन्धित सवारी धनीलाई बुझाएको हो ।

काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट हराएका १४ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बोलाएर बुझाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जानकारी दिए । उनले मोटरसाइकल हराउन नदिन सचेत रहन पनि पनि सम्बन्धित सवारी धनीहरुलाई अपील गरेका छन् ।

कीर्तिपुरबाट ३ महिना अघि मोटरसाइकल हराएका जुम्लाका अनिल उपाध्यायले आफ्नो मोटरसाइकल भेट्टाइदिएकोमा ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन् ।

यस्तै ललितपुर ग्वार्कोका दिपक खड्काले पनि चोरी भएको २ महिना पछि मोटरसाईकल आफूले पाएकोमा खुसी व्यक्त गर्दै खोजी गरेर मोटरसाईकल बुझाएकोमा ट्राफिक प्रहरीको प्रशंसा गरे ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौं उपत्यकामा मात्रै साउन र भदौं महिनामा २ सय ५६ वटा सवारी साधान हराएको पाइएको छ । त्यसमध्ये ६० वटा सवारी साधन भेटिएकोमा ३६ वटा सम्बन्धित धनीलाई बुझाइएको महाशाखाका प्रमुख पन्तले जानकारी दिए।

यसैबीच, महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा सवारी साधन चोरीको घटना बढ्दै गएको उल्लेख गर्दै सचेत रहन सबै सवारी धनीलाई आग्रह गरेको छ ।

सवारी साधनको चोरीको घटना हुन नदिन सवारी धनीहरुलाई महाशाखाका प्रमुख पन्तले आग्रह गरेका छन् । उनले चोरसँग ट्राफ्रिक प्रहरीले मिलेमतो गरेको पाइए कडा कारबाही गर्ने चेतावनी पनि दिए ।

महाशाखाले चोरीको सवारी साधन खोजविनका लागि प्रहरी निरीक्षकको नेतृत्वमा १७ जना जनशक्ति नै परिचालन गरेको छ ।

तपाईको प्रतिक्रिया