बलात्कारविरुद्ध लड्न स्कुलले छात्रालाई प्रहरीले तालिम दिदै


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि नेपाल प्रहरीमाथि अनेक प्रश्न उब्जिएका छन् । प्रहरी संगठनमाथि नै आमनागरिकको विश्वास गुम्दै गएको छ । यो दबाबबीच प्रहरीले भने बलात्कारीविरुद्ध लड्न स्कुले छात्रालाई तालिम दिने योजना बनाएको छ ।

७७ जिल्लाकै स्कुले छात्रालाई तालिम दिने
बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपेको नेपाल प्रहरीले बलात्कारविरुद्ध देशव्यापी रूपमा तालिम दिन तयारी थालेको छ । तालिममा बलात्कारीको आँखा फुटाउनेसम्मको ‘कोर्स’ समावेश छ ।

रोकथामका लागि पहल नगरेको आलोचनापछि प्रहरीले नयाँ अभियान सुरु गर्न लागेको हो । हाल दैनिक औसत तीनवटा बलात्कारका उजुरी प्रहरीमा दर्ता हुन्छन् । गत आर्थिक वर्षमा १ हजार ४ सय ८० बलात्कारको उजुरी परेको प्रहरी तथ्यांक छ । घटना बढ्नुको विश्लेषण गरेर नयाँ अभियान सुरु गर्न लागिएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले बताए ।

एक महिनापछि बलात्कारविरुद्ध नयाँ सचेतना तथा तालिम अभियान सुरु हुने थापाको भनाइ छ । यो अभियानमा प्रहरीले बलात्कारबाट कसरी जोगिने र कसैले बलात्कार प्रयास गरे कसरी प्रतिकार भन्ने तालिम दिनेछ । बलात्कार गर्न खोजे सुरुमा उसको आँखामा र त्यसपछि संवेदनशील अंगमा आक्रमण गर्ने तालिम प्रहरीले किशोरीहरूलाई दिनेछ ।

स्कुले छात्रालाई लक्षित गरी बलात्कारविरुद्ध लड्ने कार्यक्रम सुरु गर्न लागेको प्रहरीले जनाएको छ । एसएसपी थापाले ७७ वटै जिल्लाका १२ कक्षासम्मका छात्रालाई तालिममा समेट्ने बताए । प्रहरी महानिरीक्षकको सचिवालयले नयाँ अभियानका लागि गृहकार्य गरिरहेको छ । सामुदायिक प्रहरीमार्फत कार्यक्रम सञ्चालन गर्न लागिएको छ ।

प्रहरीले अन्य देशमा बलात्कारका घटना न्यूनीकरण गर्न दिइने तालिमलाई आधार बनाएर नयाँ अभियान सुरु गर्न लागेको बताएको छ । गृहमन्त्री रामबहादुर थापाले पनि बलात्कारविरुद्ध विशेष अभियान सुरु गर्न दुई साताअघि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई निर्देशन दिएका थिए । तर, प्रहरीले गृहमन्त्रीको निर्देशनअघि नै तालिमको गृहकार्य थालेको थियो ।

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा सरकार दबाबमा छ । घटनाको ५१ दिनसम्म पनि अपराधी पहिचान गर्न सकेको छैन । स्थानीय आन्दोलित छन्, प्रहरी अनुसन्धान शून्यमा छ ।

अपराध घटाउन गृह मन्त्रालयको नयाँ अभियान
लागुऔषध र मदिराका कारण महिला हिंसालगायत अपराध बढेको निष्कर्षसहित गृह मन्त्रालयले देशव्यापी नयाँ अभियान सुरु गरेको छ । लागुऔषध नियन्त्रणसम्बन्धी कार्ययोजना, २०७५ निर्माण गरी शुक्रबारदेखि अभियान कार्यान्वयन सुरु गरेको हो । गृहमन्त्री थापाको उपस्थितिमा शुक्रबार कार्ययोजना सार्वजनिक गरी यसको कार्यान्वयनका लागि युवा, महिला, विद्यार्थी नेता तथा सरोकारवालासँग छलफल भएको छ ।

कार्ययोजनाअन्तर्गत हरेक वडा ‘लागुऔषध अपराध अन्त्य सचेतना अभियान सञ्चालन समिति’ गठन हुनेछ । सो समितिले आ–आफ्नो वडामा लागुऔषध तथा मदिरा नियन्त्रणका लागि कार्यक्रम सञ्चालन गर्नेछ ।

मदिरा बिक्री र सेवनमा कडाइ गरिने
गृहले मदिरा बिक्री र सेवनमा पनि कडाइ गर्दै छ । निश्चित उमेरभन्दा कम उमेरका व्यक्तिलाई मदिरा किन्न नदिने तथा लाइसेन्सविना मदिरा बिक्री गर्न नदिने योजना छ । खासगरी ग्रामीण क्षेत्रमा मदिराका कारण विकृति बढेकाले नियन्त्रण गर्ने योजना बनाएको छ । लागुऔषधसम्बन्धी अपराध सखापै पार्ने उद्देश्यसहित यो अभियान सुरु गरिएको गृहमन्त्री थापाले बताए ।

सचेतना अभियान सञ्चालन गरिने, लागुऔषधको स्रोत पहिचान र नष्ट गर्ने, अनुगमन, निरीक्षण निगरानी, चेककप र कानुनी कारबाहीमा कडाइ गरिने, ऐन–कानुन परिमार्जन गर्ने, सर्वेक्षण गर्ने र कारोबार नियन्त्रणका लागि छिमेकी भारतलगायत देशसँग समन्वय बढाउने गृहको तयारी छ ।

लागुऔषध तथा मदिराले समाजमा विसंगति फैलिएको निष्कर्ष निकाल्दै गृहले स्थानीय तहसँग समन्वय गरी योजना कार्यान्वयन लक्ष्य लिएको छ ।

नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया