fbpx

चाडपर्वलाई लक्षित गर्दै मोटरसाइकल र मोबाइल गस्तीमा सुरक्षाको व्यवस्था


Share This

नेपालबहस संवाददाता    

धनगढी । नजिकिँदै गएको बडादशैं, दीपावली र छठपर्वको समयमा कुनै अवाञ्छित एवं आपराधिक घटना हुन नपाओस् भनेर जिल्ला प्रहरी कार्यालय कैलालीले सुरक्षा कार्य योजना कार्यान्वनमा ल्याएको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालयमा आयोजित अन्तक्र्रिया कार्यक्रममा कार्यालयका प्रमुुख प्रहरी उपरीक्षक विनोद घिमिरेले चाडपर्वको समयमा आपराधिक एवं अवाञ्छित घटना बढ्न सक्ने भन्दै यस्ता घटना हुन नदिनका लागि सुरक्षा कार्य योजना कार्यान्वयनमा ल्याइएको जानकारी दिए ।

सुरक्षा कार्य योजनाअन्तर्गत चाडपर्वको समयमा कार्यालयको सुरक्षामा खटिने प्रहरीबाहेक ७३२ प्रहरी र आवश्यकताअनुसार सादा पोशाकका प्रहरी परिचालन गर्न लागिएको छ ।

यस्तै चाडपर्वको समयमा गन्तव्यमा जाने यात्रुलाई लक्षित गरी कैलालीको प्रमुख सीमानाका त्रिनगर भन्सार सीमानाका साथै धनगढी, अत्तरिया र लम्कीमा ‘हेल्प डेस्क’ ‘सहायता कक्ष’ समेत स्थापना गर्न लागिएको छ ।

त्रिनगर भन्सार सीमा नाकामा पहिलोपटक अपराध अनुसन्धानमा प्रयोग हुने कुकुरको व्यवस्थासहितको ‘हेल्प डेस्क’ स्थापना हुन लागेको जनाइएको छ । चाडपर्वको समयमा सीमा क्षेत्रमा बढ्न सक्ने आपराधिक गतिविधिलाई निरुत्साहित गर्न सीमापारि भारतीय प्रहरीसँग पनि समन्वयको व्यवस्था मिलाइएको छ ।

सुरक्षा योजनाअन्तर्गत नगर क्षेत्रमा सादा पोशाकका प्रहरी टोली, मोटरसाइकल गस्ती र मोबाइल गस्ती, पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको अत्तरियादेखि चिसापानीसम्म आवश्यकताअनुसार प्रहरीको थप गस्ती टोलीको व्यवस्था पनि गरिएको छ ।

यातायातका साधनमार्फत् गन्तव्यमा जानेको यात्रा सहज र सुरक्षित बनाउनका लागि निगरानी गर्ने व्यवस्था मिलाइएको र आफ्नो गाउँठाउँमा कुनै प्रकारको असुरक्षाको वातावरणको स्थिति देखिएको अवस्थामा तत्कालै जिल्ला प्रहरी कार्यालयको टेलिफोन नम्बर १००,१०४ वा ९१५२१०८६ मा फोन गर्न सकिने पनि प्रहरी उपरीक्षक घिमिरेले आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार