fbpx

निर्मलाको न्यायका लागि भाँडाकुँडा बजाएर प्रदर्शन !


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । बलात्कारपछि हत्या गरिएका कञ्चनपुरकी किशोरी निर्मला पन्तको न्यायका निम्ती देशैभर निरन्तर प्रदर्शन हुँदै आइरहेको ।हत्यारा पत्ता लगाएर कारबाहीको माग गर्दै सोमबार युवा नर्स सञ्जालको आयोजनामा काठमाडौंमा प्रदर्शन भएको छ ।

प्रदर्शनका सहभागीहरुले थाल तथा विभिन्न भाँडाकुँडा ठटाएका थिए । सहभागीहरुले सरकार कहाँ चुक्दैछ बलात्कारीसँग झुक्दैछ ?, निर्मलालाई न्याय देउ नागरिकमाथि भयो अन्याय आदि लेखिएका प्लेकार्ड बोकेका थिए ।

यता छानविन समितिले आइतबार प्रतिवेदन सरकारलाई बुझाएर सार्वजनिक गरे पनि उपलब्धि शुन्य भएको छ । छानविन समितिले बुझाएको प्रतिवेदनमा निर्मलाका हत्यारा पत्ता नलागेकाले उक्त छानविनको उपलब्धि शून्य भएको हो ।

समितिले प्रतिवेदन बुझाएको भोलीपल्ट अथवा आज सोमबार प्रहरी प्रधान कार्यालयले कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया पन्तको हत्याबारे छानविन समितिको सिफारिशमा घटनास्थल अनुसन्धान अधिकृतका रुपमा खटिएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी नायब निरीक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई निलम्वन गरेको छ ।

प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले अनुसन्धानका क्रममा गम्भीर लापरवाही गरेको पाइएकाले दुवै जनालाई प्रहरी नियमावली २०७१ को नियम ११५ को उपनियम ६ ‘क’ र ‘ग’ अनुसार निलम्वन गरिएको बताएका छन् ।

घटनामा दोषी देखिएको भन्दै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित पाँच जनालाई यसअघि निलम्वन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार