केन्द्रीय प्रहरी कुकुर तालिम स्कुलको स्वर्ण जयन्ती सम्पन्न


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाल प्रहरीमा कुकुर सेवाको सुरुवात भएको स्वर्णजयन्तीको अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा केन्द्रीय प्रहरी कुकुर तालिम स्कुल महाराजगंजमा बिशेष कार्यक्रम सम्पन्न भएको छ ।

समारोहमा प्रहरी महानिरीक्षक खनालले सोही स्कुलको प्राङगणमा निर्मित कुकुर स्मारकको उदघाटन, कुकुरको प्रतिमा अनावरण तथा माल्यार्पण गरेका छन् ।

नेपाल प्रहरीमा अपराध अनुसन्धान, नियन्त्रण तथा रोकथाम, सुरक्षा लगायतका कार्यमा कुकुर सेवाले पुर्‍याएको योगदानलाई विश्वभर फैलाउने उद्देश्य स्वरुप Rakuten Viber Application Nepal Branch द्वारा Nepal Police Dog Stricker Pack को प्रहरी महानिरीक्षक खनालले आरम्भ समेत गरे ।

समारोहमा प्रहरी महानिरीक्षक खनालले यमपञ्चकको दोस्रो दिन कुकुर पूजाको आरम्भ गर्नुको साथै वर्षको उत्कृष्ट डग ह्याण्डलर प्रहरी जवान दिपेश रानाभाट र गार्ड कम्पिटिसनमा उत्कृष्ट डग जङगेलाई मेडल तथा पुरस्कार वितरण गरे।

प्रहरी महानिरीक्षक खनालले समाजमा शान्ति स्थापना, अपराध अनुसन्धान, नियन्त्रण तथा रोकथामको साथै विशिष्ट व्यक्तिहरुको गतिविधिमा कुकुर सेवाले पुर्‍याएको योगदानको चर्चा गरे ।

कुकुर स्कुललाई समयसापेक्ष स्तरोन्नतिका लागि अग्रजहरुले पुर्‍याएको योगदानको प्रशंसा गर्दै उनले स्कुलको विकास सँगसँगै दक्ष जनशक्ति समेत तयार बनाउँदै लगिने बताए ।

कुकुरले पुर्‍याउने सेवामा पूर्णता प्राप्त गर्न प्रहरीको समेत दक्षता आवश्यक पर्ने बताउँदै प्रहरी महानिरीक्षक खनालले स्कुलमा कार्यरत प्रहरी कर्मचारीहरुले डग ह्याण्डलिङमा विशेष दक्ष हुनुपर्ने बताए।

स्कुलको पूर्वाधार विकासका साथै स्कुलले पुर्‍याउने सेवालाई अझ बढी चुस्त र व्यावसायिक बनाउन संगठन सदैव ढृढ संकल्पित रहेको उनले बताए। उक्त अवसरमा केन्द्रीय प्रहरी कुकुर तालिम स्कुलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. देउती गुरुङले स्वागत मन्तव्य व्यक्त गर्दै स्कुलको गतिविधि सम्बन्धी प्रतिवेदन समेत प्रस्तुत गरे ।

कार्यक्रममा स्कुलमा रहेका डगहरुबाट गार्ड कम्पिटिसन, बाधापार, ट्रयाकर डगको काम तथा लागूऔषध डगको काम सहितको प्रदर्शनी भएको थियो । यस वर्षको उत्कृष्ट डगमा ४ नम्बर प्रदेश प्रहरी कार्यालय, कुकुर शाखा पोखरामा सेवारत जर्मन शेफर्ड जातको ‘कुशल’नामको कुकुर रहेको उक्त अवसरमा जानकारी गराएका थिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरु, संचारकर्मी लगायत प्रहरी अधिकृत तथा जवानहरुको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार