सूचनाको हक, प्रवाह र संचार प्रविधि सम्बन्धी २ दिने अनुशिक्षण


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । राष्ट्रिय सूचना आयोग र प्रहरी प्रधान कार्यलयको आयोजनामा सूचनाको हक, सूचना प्रवाह र संचार प्रविधि सम्बन्धी दुईदिने अनुशिक्षण कार्यक्रम प्रहरी प्रधान कार्यलयमा सोमबारबाट सुरू भएको छ ।

कार्यक्रमको विशेष सत्रमा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले नेपालमा सूचनाको हक सम्बन्धी व्यवस्थाबारे प्रस्तुतीकरण गर्दै सूचनाको हकको परिचय, यस सम्बन्धी ऐन तथा सुशासन ऐनले सार्वजनिक निकायलाई तोकेको दायित्व र आयोगले सम्पन्न गरेका कार्य तथा उपलब्धीबारे बताए।

आमजनताको भरोसाको केन्द्रबिन्दु रहेको नेपाल प्रहरीले संस्थागत पारदर्शिता कायम गरी सूचना सम्प्रेषण गर्ने उचित संयन्त्र विकास गर्नुपर्नेमा उनले जोड दिए । उक्त अवसरमा प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले नेपाल प्रहरी संविधान र कानुनी प्रावधान अनुसार सूचना प्रवाह गर्न संवेदनशिल र पूर्ण सजगताकासाथ अगाडि बढ्दै आएको बताए ।

कानुन कार्यान्वयन गराउन प्रत्यक्षरुपमा संलग्न हुने नेपाल प्रहरीको सेवाबाट आमनागरिकले कस्तो अनुभव गरे भन्नेबारे संगठन सजग रहेको उल्लेख गर्दै सूचना प्रवाहले प्रहरी कर्मचारीलाई उत्तरदायी बनाउने उनले बताए ।

सो अवसरमा प्रहरी नायव महानिरीक्षक डा। राजिव सुब्बाले कार्यक्रम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै नेपाल प्रहरीमा कार्यरत प्रवक्ता तथा सूचना अधिकृतहरुलाई सूचनाको हक सम्बन्धमा आफ्नो भूमिका सम्बन्धि जानकारी गराउनु अनुशिक्षण कार्यक्रमको उद्धेश्य रहेको उल्लेख गरे ।

अनुशिक्षणमा राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले नेपालमा सूचनाको हक तथा खुल्ला सरकारी तथ्याङ्क सम्बन्धी व्यवस्थाबारे प्रस्तुतिकरण गरेका थिए भने प्रहरी वरिष्ठ उपरीक्षक वीरेन्द्र श्रेष्ठले सूचनाको हक सम्बन्धी व्यवहारिक र कानुनी पक्षकाबारे सहभागीहरुबीच समुहगत छलफल गराएका थिए ।

आयुक्तद्वय किरण पोखरेल र यसोदा तिम्सिना, प्रहरी अतिरिक्त महानिरीक्षक डा। दिनेशचन्द्र पोखरेल, प्रहरी नायव महानिरीक्षकहरूको उपस्थिति रेहेको सो कार्यक्रममा प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, जिल्ला तथा मातहत प्रहरी कार्यालयमा कार्यरत प्रवक्ता तथा सूचना अधिकृतहरुको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया