ठेकेदारले भवन अलपत्र पारेपछि स्वास्थ्यचौकीको सेवा प्रभावित
नेपालबहस संवाददाता
जेठ २१, २०८० आइतबार १७:२०:३४
२१ जेठ, खोटाङ । ठेकेदारले समयमा स्वास्थ्यचौकीको भवन निर्माणको काम सम्पन्न नगर्दा खोटाङको बाहुनीडाँडामा स्वास्थ्य सेवा प्रवाह प्रभावित भएको छ । गौरी पार्वती न्यु टेक्निकल जेभी, ललितपुरको चरम ढिलासुस्तीका कारण स्वास्थ्यचौकीको भवन निर्माणको काम अलपत्र पर्दा स्वास्थ्यकर्मी भाडाको साँघुरो कोठाबाट स्वास्थ्य सेवा प्रवाह गर्न वाध्य छन् ।
हाल स्थानीय झोक्रे राईको घरको दुईवटा कोठा भाडामा लिएर स्वास्थ्यचौकी सञ्चालन हुँदैआएको छ । यसअघि तत्कालीन गाविसको जीर्ण भवनको साँघुरो कोठाबाट स्वास्थ्यचौकीको सेवा प्रवाह हुँदै आएको थियो । हाल गाविसको भवनलाई भत्काएर वडा कार्यालयको भवन निर्माणको काम सुरु गरिएपछि स्वास्थ्यचौकीलाई गत माघदेखि भाडाको घरमा सारिएको हो ।
स्वास्थ्यचौकीको भाडाको कोठा पनि साँघुरो छ । कोठामा दुईवटा मात्र कुर्सी अटाइएका छन् । एकैपटक धेरै बिरामी उपचारमा आए उभ्याएर राख्नुपर्ने वाध्यता रहेको स्वास्थ्यचौकीका ईन्चार्ज लिलामायाँ लामीछाने बताउँछिन् ।
‘सेवा प्रवाह गर्ने कोठा साँघुरो छ । एकैचोटी तीन चार जना बिरामी आए बस्ने ठाउँको व्यवस्था छैन । कोठामा दुईटा कुर्सी मात्र अट्छ । बिरामीलाई उभ्याइरहनुपर्ने अवस्था छ । सेवा दिन एकदमै गा¥हो भइरहेको छ,’ लामिछानेले भनिन्, ‘महिला पुरुषका लागि अलग–अलग कोठामा राखेर सेवा दिने ठाउँ छैन । व्यक्तिगत गोपनीयता कायम गर्न असहज छ ।’ स्वास्थ्यचौकीको भाडामा मासिक पाँच हजार खर्च हुने गरेको छ ।
गौरी पार्वती न्यु टेक्निकल जेभीले २०७८ फागुन २७ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७७ मंसिर ११ गते सम्झौता गरेको थियो । दुई पटक थप भएको म्याद गुज्रिदा पनि स्वास्थ्यचौकीको भवन निर्माणको काम अलपत्र छ । अर्कातर्फ स्वास्थ्यचौकीको पर्खाल कमसल बनेको स्थानीय एलबी राई बताउँछन् ।
कतिपय ठाउँमा इँटाको पर्खाल ठेल्दा भत्किने गरेको छ । पहिलो पटक थप भएको म्याद २०७९ असार ३२ गते र दोश्रो पटक थप भएको म्याद २०७९ माघ २ गते सकिएपछि ठेकेदारले पुनः आगामी असार मसान्तसम्मका लागि म्याद थपको माग गरेको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुंगाका इन्जिनियर शुशिल चौधरीले बताए । ठेकेदारका प्रतिनिधिले काम गर्नुको सट्टा हाकिमको सरुवा गरेपछि मात्र काम अघि बढ्ने बताउने गरेका छन् ।
स्वास्थ्यचौकीको आफ्नै भवन नहुँदा बर्थिङ सेन्टरलाई पनि स्थानीय उषा राईको घरमा राखिएको छ । स्वास्थ्यचौकीसँग नजिक रहनुपर्ने बर्थिङ सेन्टरलाई केही दुरीमा राखिएको छ । २०७५ सालदेखि मासिक चार हजारमा व्यक्तिको घरमा राखिएको बर्थिङ सेन्टरको कोठा पनि साँघुरो छ ।
बर्थिङ सेन्टरको व्यवस्थापन पक्ष कमजोर हुँदा वडामा डेलिभरी संख्या बढाउन सकिएको छैन । स्वास्थ्यचौकीको भवन अलपत्र पार्ने ठेकेदारलाई पटक–पटक भवन निर्माणको काम सम्पन्न गर्न ताकेता गरे पनि अटेर गरेको वडाध्यक्ष रुद्र राई बताउँछन् । काम गरेका कामदारले ठेकेदारबाट हालसम्म पुरा पारिश्रमिक पाएका छैनन् ।
साउदी सरकारको फण्डमा राष्ट्रिय पुःननिर्माण प्राधिकरणमार्फत एउटै ठेक्कामा खोटाङको बाहुनीडाँडा, मंगलटार, बतासे, राखाबांदेल र दोर्पाचिउरीडाँडा स्वास्थ्यचौकीको भवन निर्माणको काम सुरु गरिएको थियो । गौरी पार्वती न्यु टेक्निकल जेभीले भ्याट बाहेक सात करोड ४० लाख ८४ हजार २९६ रुपैयाँमा पाँच स्वास्थ्यचौकीको भवन निर्माणको ठेक्का लिएको हो । समग्रमा पाँच वटै स्वास्थ्यचौकीको भौतिक प्रगती करिब ६० प्रतिशत र वित्तीय प्रगती करिब ४७÷४८ प्रतिशत मात्र भएको इन्जिनियर चौधरीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने
बैशाख १३, २०८१ बिहिबार
रौनियारसहित २९ ठेकेदारका निमार्ण कम्पनी कालोसूचीमा
बैशाख ११, २०८१ मंगलबार
पेट्रोलियम पदार्थ उत्खननको प्रगतिबारे मन्त्री भण्डारीलाई जानकारी
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार