जनताका सुख–दुःखलाई बेवास्ता गर्ने सरकार सञ्चालकहरूको कस्तो प्रवृत्ति हो ?
भेषराज पोखरेल
असोज ९, २०८१ बुधबार ११:६:१६
सरकार सञ्चालकहरुले विकासका ठूलठूला कुरा गरिरहेका हुन्छन्, व्यापार र राजस्वका कुरा गरिरहेका हुन्छन् तर जनताका साना सुख–दुःखलाई बेवास्ता गरिरहेका हुन्छन् । आन्तरिक अर्थतन्त्र सक्रिय हुन नसकिरहेको अवस्थामा साना–सानाजस्ता देखिने तर अर्थतन्त्र सक्रिय बनाउन सहयोगी बन्न सक्ने कुराहरु चिन्न पनि नसक्ने र बेवास्ता गर्ने प्रवृत्ति नै बढिरहेको छ । नजिक आइरहेको दशैंमा हुने जनताका आवश्यकता तथा सुख–दुःखका कुराहरुलाई सरकारले उचित व्यवस्थापन गर्ने हो भने अर्थतन्त्र सक्रिय बन्ने तथा जनताको सुख ह्वात्तै बढाउन सकिन्छ ।
दशैं नजिकिँदै छ तर सरकारले काठमाडौं तथा अन्य शहरबाट बाहिर ग्रामीण क्षेत्रमा जाने गाडीको बुकिङ खुला गर्ने वातावरण बनाउनसम्म सकेको छैन । पेट्रोलियम पदार्थको मूल्य घटेको अवस्थामा पनि व्यवसायीहरुले यायातायातको भाडा बढाउन चाहेको देखिन्छ तर सरकारले इन्धनको मूल्य घटेको अवस्थामा मूल्य बढाउन मिल्दैन भन्न सकेको छैन । वर्षको एक पटक दशैंमा जन्मस्थान जान चाहने काठमाडौं तथा देशका अन्य शहरमा स्थायी तथा अस्थायी रुपमा बसोवास गर्नेहरूले सरल तथा शान्तपूर्ण वातावरणमा यात्रा गर्न चाहन्छन् तर सरकार यो विषयमा किंकर्तव्यविमुढको अवस्थामा छ भने यातायत व्यवसायीहरुले यही मौकाको लाभ लिन तस्सिरहेका छन् । अर्थतन्त्रका अन्य साना–सानाजस्ता लाग्ने, अर्थतन्त्र, धर्मसंस्कार, संस्कृतिका लागि सक्रिय बनाउन ठूलो भूमिका खेल्ने कुराहरुको बेवास्ता गर्नु सरकार सञ्चालकहरुको गम्भीर कमजोरी हो ।
दशैंको अवसरमा राष्ट्रले देशको यातायात क्षेत्र व्यवस्थित बनाउने हो भने जनताको खुसी कति हो कति बढ्न जान्छ । उनीहरुका सपरिवारको गाउँको यात्राले समग्र शहर तथा ग्रामीण क्षेत्रको अर्थतन्त्रलाई सक्रिय बनाउँछ । यस्तो अवस्थामा राज्यले सबैभन्दा पहिले यातायातका साधनहरुको सर्वसुलभता बनाउनु आवश्यक छ । राष्ट्रले दशैं, तिहार तथा छठ जस्ता चाडमा हुने सर्वसाधारणको आवतजावतको गतिशीलतालाई अधिकतम उपयोग गर्न सक्नुपर्छ । राज्यले जनतालाई केही गर्दैछ भनेर देखाउने अवसर पनि हो यो । यातायात साधनको व्यवस्थापन, बजार व्यवस्थापन, मूल्य र गुणस्तर अनुगमनलाई सशक्त बनाउनु आवश्यक हुन्छ । सरकारले अति जरुरी र गर्नैपर्ने काम यातायात क्षेत्रलाई व्यवस्थित बनाउने काम पनि गर्न नसक्नु राम्रो शासन संयन्त्रको परिचायक होइन ।
यति मात्रै होइन सरकारले बजारलाई व्यवस्थित गर्न नसक्दा यो बेला जनताले मूल्यवृद्धिको मार खेप्न बाध्य भएका छन् । निर्माणदेखि अन्य विलाशिताका सामग्रीहरूको मूल्य स्थिर रहेर समग्र मुद्रास्फीति सामान्य देखिए पनि दैनिक उपभोग्य सामग्रीको मूल्य अत्यधिक बढाइएको छ । खाने तेल, दालजन्य पदार्थ, मसलाजन्य पदार्थ, चिनी, चामलदेखि अन्य दैनिक उपभोग्य पदार्थको मूल्य बढाइएको मात्रै छैन गुणस्तरमा पनि ठगिन थालेका छन् जनता । अघिल्ला वर्षहरुमा पनि यही अवस्था थियो । यसले जनताको स्वास्थ्यमा त प्रतिकूल प्रभाव पर्ने नै भयो उनीहरुको पारिवारिक बजेट व्यवस्थापनदेखि गन्तव्यसम्म पुगेर फर्कने कुरामा अत्यन्तै तनावमा रहन थालेका छन् । यसले उनीहरुमा दुःख थपिदिएको, चिन्ता थपिदिएको छ ।
सरकार सञ्चालकहरूले यसो गर्छौं उसो गर्छौं भनेर भाषण गरे पनि राष्ट्रलाई लाभ हुने सामान्य कुरामा पनि चुक्दै आएका छन् । सामान्य उदाहरणलाई हेरौँ– दशै, तिहार तथा छठ पर्वमा नेपालका सीमावर्ती क्षेत्रका बजारहरु सक्रिय हुनुपर्ने हो तर भारतका सीमाबजार नेपाली ग्राहकका कारण पूर्ण रुपमा गुल्जार बन्न गइरहेको अवस्था छ । सरकारले सर्वसाधारणको हित हुने र नेपाली व्यापारीहरुको पनि हित हुने गरी व्यवस्थित बनाउन सक्नुपर्थ्यो तर त्यसो हुन सकेको छैन । सरकारले व्यक्तिले सीमा वारपार गराउने सामान्य सामग्रीमा पनि भन्सार लगाउनुले सर्वसाधारण पारि जाने क्रममा त कम हुन सक्छ तर नेपाली बजारका व्यापारीहरुले यही मौका छोपी अत्यधिक मूल्य बढाउँदा सीमा क्षेत्रका सर्वसाधारण जनता ठगिने अवस्था आएको छ । यसलाई सरकारले कुशल व्यवस्थापन देखाउन सक्नुपर्थ्यो तर त्यसो हुने अवस्था नै छैन । यो दुःखको कुरा हो ।
नेपालले दूधजन्य पदार्थ, तरकारीजन्य पदार्थ, चामल, दालजन्य पदार्थ, मासुजन्य पदार्थ तथा फलफूलको उत्पादन बढाएर आत्मनिर्भर बनाउन सक्ने प्रशस्त सम्भावना छ । सरकारले यी क्षेत्रका लागि केही बजेट छुट्याए पनि, केही कृषकलाई अनुदान दिए पन आमरुपमा कृषकलाई प्रोत्साहन हुने अवस्था सिर्जना गर्न सकेको छैन । न कृषकको कार्य स्थलमै विशेषज्ञ सेवा प्रवाह गर्न सकेको छ न कृषकका सबै उत्पादनलाई सरल रुपमा बजारसम्म पुर्याउने व्यवस्था गर्न सकेको छ ।
यसले गर्दा नेपालको व्यापार घाटा बढिरहेको छ । मेसिनरी उत्पादन गर्न नसक्ने, हुन सक्ने, कृषि क्षेत्रका समस्यामा सरकारले बेवास्ता गर्ने गर्दा व्यापार घाटा लगातार बढिरहने अवस्था आएको हो । पछिल्लो समय व्यापार क्षेत्र पूर्ण रुपमा खुला भएको छ तर व्यापार क्षेत्रले यस्तो रुप लिँदैछ कि आन्तरिक उत्पादनलाई पूर्ण रुपमा बेवास्ता गर्दै सबै सामग्री आयात गरेर बेच्ने र अत्यधिक नाफा कमाउने । यो व्यापारको प्रवृत्तिले आन्तरिक उत्पादनलाई उठ्नै नदिने अवस्था सिर्जना हुँदै गएको छ । यो आत्मनिर्भर अर्थतन्त्रका लागि खतरनाक अवस्था हो । अहिले आयातमा केही कमी आएको देखिन्छ । यस्तो हुनुको कारण आन्तरिक उत्पादन बढेर देशको माग पूरा गर्दै गएको अवस्था होइन, आन्तरिक खपतमै कम भएर यस्तो देखिएको हो । तथ्यांकहरुले त्यसै भन्छन्, यही अवस्थामा पनि प्रति महिना १ खर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
सरकारले माथि भनिएका ठूला काम एकै पटक गर्न नसके पनि इमान्दार सुरुवात गर्ने हो भने पनि नेपाली समाज चलायमान हुन सक्छ । अर्को, जनतालाई साना खुसी दिन देख्दा सामान्य लाग्ने तर महत्वपूर्ण धार्मिक, सांस्कृतिक तथा सामाजिक पर्वमा गर्नुपर्ने कार्यमा सरकारले सामान्य चासो दिने हो नसकिने कुरै छैन । सरकारले गर्न सकिने कामहरु समय र अवसरमा गर्न अति जरुरी छ । सरकारले त्यसो पनि गर्न नसकेर वा नचाहेर सधैं बेवास्ता गर्दै गयो भने पछिल्लो समय जनतामा देखिएको आक्रोश बढ्दै गएर विष्फोटकै अवस्था आउन सक्छ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपअहिलेको विकृत राजनीति र समाजको परिप्रेक्षमा देवी शक्तिको प्रसंगलाई कसरी लिने ?
असोज १९, २०८१ शनिबार
शासक, प्रशासकहरू किन चुकिरहन्छन् देशलाई अप्ठ्यारो पर्दा ?
असोज १७, २०८१ बिहिबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
असोज १५, २०८१ मंगलबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार
अख्तियारले दोहोर्याएर किन छापा हान्यो ‘क्यान’मा ?
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार
यी हुन् सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका ४१ स्थानीय तह
असोज १९, २०८१ शनिबार
इजरायलले इरानको तेल केन्द्रमा निशाना बनाए कस्तो असर पर्छ ?
असोज १९, २०८१ शनिबार
अखिल क्रान्तिकारीको स्थगित राष्ट्रिय सम्मेलन मङ्सिरमा हुने
असोज १९, २०८१ शनिबार
स्थानीय सरकार प्रमुख भन्छन् :- सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ
असोज १९, २०८१ शनिबार
उर्जामा त्रिपक्षीय सम्झौताः बंगालको खाडीसम्म संभावनाको बाढी
असोज १९, २०८१ शनिबार
मन्त्रालयले भन्यो :- विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन
असोज १९, २०८१ शनिबार
बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु
असोज १९, २०८१ शनिबार
अब हुने सबै चुनावमा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छ : प्रचण्ड
असोज १९, २०८१ शनिबार